सिन्धुलीमा कार दुर्घटना, एकको निधन दुई घाइते

सिन्धुली । बिपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा मंगलबार भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बिराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई करिब ४२ फिट तल खस्दा मोरङका ६५ वर्षीय ओमबहादुर अर्जेलको मृत्यु भएको हो। मृतक अर्जेलको श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र छोरा ३१ वर्षीय निशान्त अर्जेल घाइते भएका छन्।

दुर्घटनामा घाइते तीनै जनालाई आत्मीय सामुदायिक अस्पताल खाल्टे पुर्‍याइएकोमा चालकसमेत रहेका ओमबहादुरलाई चिकित्सकले मृत घोषणा गरेका थिए। अन्य दुई जनालाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।