
भक्तपुर । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले स्वास्थ्य विशेष स्मारिका ‘हाम्रो प्रयास’ सोमबार सार्वजनिक गरेको छ।
सो अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै जनस्वास्थ्य विज्ञ तथा साहित्यकार योगेन्द्र प्रधानले अस्पतालका नाममा अनावश्यक खर्च बढाइएको भन्दै जनस्वास्थ्यमा लगानी प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्।
प्रधानका अनुसार अहिलेका अस्पतालहरू उपचार केन्द्र होइन, रोगीका केन्द्रमा परिणत भएका छन्। उनले भने, “रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिने उपायमा सरकार र समाज दुवै लाग्नुपर्छ। यसका लागि प्रवर्द्धनात्मक र प्रतिकारात्मक उपचार पद्धतिलाई प्राथमिकता दिन आवश्यक छ।”
नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष देवेन्द्रबहादुर प्रधानले नेपाललाई क्षयरोगमुक्त बनाउने अभियानमा सरकारले प्रयत्न गरे पनि व्यवहारिक कार्यान्वयनमा कमजोरी रहेको बताए। उनले संघसंस्थालाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए।
हाम्रो प्रयासका प्रधान सम्पादक धनमान श्रेष्ठले संस्थाको स्थापना र योगदानबारे प्रकाश पार्दै क्षयरोग नियन्त्रणका लागि गरिएको इमानदार सामाजिक कार्यबाट जनताको विश्वास प्राप्त भएको बताए। पूर्व कोषाध्यक्ष महेन्द्रगोपाल कर्माचार्यले स्मारिकामा प्रकाशित स्वास्थ्य लेख र विचारहरूलाई व्यापक रूपमा प्रसार गर्नुपर्ने सुझाव दिए।

समाजसेवी अनन्त धौभडेलले स्वास्थ्य समस्याको दीर्घकालीन समाधानका लागि सहकार्य र समन्वय अपरिहार्य रहेको बताए।
कार्यक्रम संस्थाका अध्यक्ष हिरण्यलाल जोशीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा भक्तपुर अस्पतालकी मेट्रोन सजना साख, भक्तपुर डक्टर एसोसिएसनका अध्यक्ष डा. पुण्यराम खर्बुजा र संस्थाका सचिव विजय कर्माचार्यले पनि विचार व्यक्त गरे।
वि.सं. २०३६ साल साउनमा स्थापना भएको नेपाल क्षयरोग निवारण संस्था भक्तपुर शाखाले प्रकाशन गरेको ‘हाम्रो प्रयास’ स्मारिकामा विभिन्न स्वास्थ्य विशेषज्ञका लेख, कथा र सन्देशमूलक सामग्री समावेश छन्।








