
ललितपुर । सुशासनका लागि सूचनाको हक सुनिश्चित हुनुपर्ने र त्यसका लागि पत्रकार महासंघले नेतृत्व लिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
वागमती गाउँपालिका– २ सँगको सहकार्यमा नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले शुक्रवार आयोजना गरेको ‘सूचनाको हक प्रवर्द्धनमा पत्रकार महासंघको भूमिका’ विषयक कार्यक्रममा वक्ताहरूले सूचना लिनेदिने कार्य सरल, सहज र बिश्वासिलो बन्नुपर्ने बताए ।
सो अवसरमा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष एवं सूचनाको हक प्रवर्द्धनका वरिष्ठ अभियन्ता उमिदप्रसाद बागचन्दले लुकाइएका सूचना बाहिर ल्याउनु पत्रकारको कर्तब्य भएको बताए । सूचना प्रायोजित हुन नहुने तथा सत्य, तथ्य र निस्पक्ष हुनुपर्ने उनको भनाइ छ ।
नेपालमा सूचना संकलन गरेकै कारण पत्रकारले ज्यान गुमाउनु परेका र कानुनी हैरानी बेहोर्नु परेका उदाहरणहरु प्रस्तुत गर्दै बागचन्दले पत्रकारको जीउधनको सुरक्षा, पत्रकारमैत्री कानुन निर्माण र पेशागत आचार संहिता पालनाको वातावरण बनाउन पत्रकार महासंघले नेतृत्व लिनुपर्ने दायित्व बारे उल्लेख गरे ।
ललितपुरकी सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले सही सूचनाले समाजमा सकरात्मक प्रभाव पार्ने तर, गलत सूचनाले समाजलाई हानी पुर्याउने प्रष्ट पारिन् ।
समाज र देशलाई गलत सूचनाबाट बचाउनपर्ने आवश्यकता औल्याउदै उनले भ्रामक र उत्तेजना फैलाउने सूचना सस्प्रेसण गर्न नहुनेमा जोड दिइन् ।
पत्रकार महासंघले पत्रकारलाई समाज,देश र मानवजाति प्रति संवेदनशील बन्न र सही सूचना मात्र सस्प्रेसण गर्न यस्ता अन्तरक्रिया नियमित चलाउनुपर्ने सुझाव दिदै सुशासन कायम गर्न यस्ता कार्यशाला उपयोगी हुने बिश्वास व्यक्त गरिन ।
कार्यक्रममा वागमती गाउँपालिका–२ का वडा अध्यक्ष रामबहादुर ब्लोनले पत्रकारले निरासा मात्र नबाढी आशाको समेत सञ्चार गर्न सुझाव दिए ।
राजनीतिकर्मी र जनप्रतिनिधिले अहोरात्र जनसेवा गरेको भएपनि सबै खराब भन्ने भाष्य बनाएर हतोत्साहित गरिएको उनको भनाइ छ ।
स्थानीय जनताको पक्षमा आफूहरूए गरेका कामहरुलाई पत्रकारहरुले प्राथमिकता नदिएका उनले गुनासो गरे ।
पत्रकार र जनप्रतिनिधिले सकारात्मक संदेश दिनेगरी काम गर्न सके देश छिट्टै लयमा फर्कने बिश्वास व्यक्त गर्दै उनले पत्रकार महासंघले त्यसको वातावरण बनाउनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपत्यका प्रदेश समितिका कोषाध्यक्ष संजीप घिमिरे शुभचिन्तक, ललितपुरका पूर्व अध्यक्ष प्रभुनारायण बस्नेत लगायत जिल्लाका एक सय बढी पत्रकार सहभागी रहेका सचिव दिपक अर्यालले जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष एवं सूचनाको हक प्रवर्द्धनका वरिष्ठ अभियन्ता उमिदप्रसाद बागचन्दले कार्यपत्र प्रस्तुत गरेका थिए । सोही प्रस्तुतिकरणमा केन्द्रीत रही अन्तरक्रिया गरिएको थियो ।







