भक्तपुर । भक्तपुरस्थित समय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं साधारणसभा सोमबार सम्पन्न भएको छ ।
यसपटक कुनै विशेष अतिथि विना सम्पन्न भएको साधारणसभामा अध्यक्ष श्यामसुन्दर बेकोजूले संघीय सरकार, नेपाल राष्ट्र बैंक, सहकारी विभाग तथा सहकारी नियमन प्राधिकरण मिलेर समुदायमा आधारित सहकारीलाई खुम्च्याउने प्रयास गरेको आरोप लगाएका थिए ।
उपाध्यक्ष चन्द्रकृष्ण ग्वाछाले सहकारीले आर्थिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान, सरसफाइ कार्यक्रम र सदस्यहरूको व्यावसायिक प्रवर्द्धनका लागि सीपमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिए ।
सचिव लक्ष्मीप्रसाद छुस्याबागले नयाँ नीतिनियमका कारण बाधा भए पनि सदस्यहरूको हितका लागि निरन्तर सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कोषाध्यक्ष लक्ष्मीप्रसाद गाइजूले भने सहकारी पीडितलाई राहत नदिई ठगी गर्ने सहकारीलाई नियमन प्राधिकरणले संरक्षण गरेको बताए ।
लेखा सुपरिवेक्षण समितिका संयोजक विक्रम ढुकुछुले सहकारी नियमन प्राधिकरणको नयाँ नीतिनियमले सदस्यहरूको बचत अधिकार कुण्ठित गरिरहेको बताए ।
साधारणसभाले आव २०८१/८२ को सचिवको प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । आव २०८२/८३ का लागि ३३ करोड ७ लाख ५४ हजार २८९ रुपैयाँको अनुमानित बजेट पारित गर्दै करसहित ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पनि गरिएको छ ।
व्यवस्थापक कृष्णप्रसाद दुवालका अनुसार साधारणसभामा ६३.८२ प्रतिशत सदस्य तथा ९० प्रतिशत बालबचत सदस्यहरूको उपस्थिति रहेको थियो ।







