काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको क्षतिमा २२ अर्ब २५ करोड रुपैयाँ बराबरको बिमा दाबी परेको छ । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार असोज ५ गतेसम्म १४ वटा निर्जीवन बिमा र ४ वटा लघु निर्जीवन बिमामा कुल २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको हो ।
तथ्यांक अनुसार सबैभन्दा बढी बिमा दाबी दि ओरियन्टल इन्स्योरेन्समा परेको छ । यस कम्पनीमा ७३ निवेदन मार्फत ५ अर्ब २२ करोड ९८ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ५ अर्ब ८ करोड रुपैयाँको बिमा दाबी परेको छ । यस कम्पनीमा २७९ वटा निवेदनबाट उक्त रकम बराबरको दाबी परेको हो ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा २ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ बरारबरको दाबी परेको छ । १७० वटा दाबी संख्याबाट बिमा दाबी परेको प्राधिकरणले जनाएको छ । यता, शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड ३३ लाख रुपैयाँ बराबरको ३७४ वटा बिमा दाबीको निवेदन परेको छ ।

प्राधिकरणका अनुसार ५३८ वटा सम्पति बिमाको दाबी परेको छ । मोटर बिमामा १ हजार ७७८ दाबी, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमामा १३२ दाबी परेका छन् । कुल २ हजार ४७८ दाबी परेका छन् ।

यता, बागमती प्रदेशमा मात्रै १७ अर्ब ९७ करोड रुपैयाँ बराबरको दाबी परेको छ । कोशीमा १ अर्ब ६५ किरोड, मधेशमा ५५ करोड २८ लाख, गण्डकीमा १ अर्ब २९ करोड, लुम्बिनीमा ४५ करोड ६९ लाख, कर्णालीमा ८ करोड ९३ लाख र सुदूरप्रश्चिममा २३ करोड ९६ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको छ ।








