काठमाडौं । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफ्नो प्रतिबद्धता व्यवहारमै उतारेका छन् । पदभार ग्रहण गरेको पहिलो दिनमै “जहाँ काम गर्छु, त्यही बस्छु” भनेर घोषणा गरेका पुन मंगलबारदेखि शिक्षा मन्त्रालयकै भवनमा स्थायी बसाइँ थालेका हुन् ।
केशरमहलस्थित मन्त्रालय परिसरभित्रै मन्त्रीका लागि छुट्टै कोठा खाली गरी भान्छा र सुत्ने कोठाको व्यवस्था मिलाइएको छ । सोमबार राति बस्ने तयारी गरे पनि तत्काल व्यवस्था नहुँदा दोस्रो दिनदेखि उनी मन्त्रालयमै बस्न थालेका छन् ।
मन्त्रालयले आवश्यक भान्सा कोठाका सामग्री र ओछ्यानको बन्दोबस्त गरिदिएको छ भने मन्त्री पुनले आफैं खाना पकाउने बताएका छन् । उनले राष्ट्रिय आविष्कार केन्द्रबाट आफ्ना व्यक्तिगत सामग्री सुटकेसमा बोकेर ल्याएका छन् ।
पुनले पदभार ग्रहणकै दिन सचिव चुडामणी पौडेललाई आफू मन्त्रीक्वार्टरमा नजाने भन्दै मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । काम गर्ने ठाउँमै बस्दा समय पनि बच्छ र जिम्मेवारी पनि थप प्रभावकारी हुन्छ भन्ने उनको धारणा छ । “म जहाँ काम गर्छु, त्यहीँ बस्ने र दत्तचित्त भएर काम गर्ने मेरो बानी छ ।” उनले भने ।
शिक्षामन्त्री पुनको यस्तो जीवनशैली र कार्यशैलीले राजनीतिमा नयाँ अभ्यासको संकेत दिएको छ । पदमा पुगेपछि बिलासी हुने र भड्किलो जीवनशैली अपनाउनेहरुलाई पुन एक पाठशाला भएका छन् ।
मन्त्री पुनले केकस्ता काम गर्छन् त्यो भने हेर्न बाकी नै छ । तर, उनको सादगीले उनले शुरुमै बहुसंख्यक जनताको मन जिकिसकेका देखिन्छन् ।
मन्त्रालय सम्हालेको दुईदिनमै उनले परीक्षाफल प्रकाशनमा तीन महिना बढी समय लगाउने विश्वविद्यालयको अनुदान रोक्का गर्नेदेखि विश्वविद्यालयमा फूट्पाथसगितको आकर्षक पार्क बनाउने र विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप गर्ने निर्णय गरिसकेका छन् ।






