काठमाडौ । जेनजी आन्दोलनकी अगुवा रक्षा बमको संयोजकत्वमा नयाँ संगठन ‘नेपाल जेनजी फ्रन्ट’ गठन गरिएको छ। उनले जेनजी आन्दोलनलाई संस्थागत र एकीकृत रूप दिनका लागि उक्त मोर्चा स्थापना गरेको घोषणा गरेकी हुन्।
बमले सामाजिक सञ्जालमार्फत २१ पृष्ठ लामो दस्तावेजसहित मोर्चा गठनको घोषणा गरेकी छन्। विज्ञप्तिअनुसार, जेनजी आन्दोलनसँग सम्बन्धित विभिन्न समूह र नेताहरूलाई एउटै संरचनामा ल्याई राजनीतिक एकता र संगठनात्मक स्थायित्व कायम गर्ने उद्देश्यले फ्रन्ट गठन गरिएको हो।
फ्रन्टको नेतृत्वमा संयोजक रक्षा बमका साथै युजन राजभण्डारी, यतिष ओझा, मनिष खनाल, आदित्य कर्ण, ऋतु खड्का, संविधान प्रसाईं, नजिर आलम, आसन अन्सारी र पूजा मेहता सदस्यका रूपमा रहेका छन्।
घोषणापत्रमा जेनजी विद्रोहका एजेन्डाहरूलाई एकिकृत गर्दै देशभरका जेनजीहरूलाई साझा प्लेटफर्ममा ल्याउने लक्ष्य राखिएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, “यो समूह राजनीतिक दृष्टिले समान विचार राख्ने जेनजीहरूलाई एउटै मोर्चामा जोड्ने प्रारम्भिक कदम हो।”
फ्रन्टले संघीय संरचनामा आधारित भएर प्रदेश र जिल्ला समिति गठन गर्ने तयारी पनि गरेको छ। संगठन समिति सदस्य युजन राजभण्डारीका अनुसार, आगामी दिनमा देशका सबै प्रदेशमा प्रतिनिधित्व हुने गरी जेनजी फ्रन्टको औपचारिक विस्तार सुरु गरिनेछ।
रक्षा बमले यो फ्रन्टलाई “जेनजी विद्रोहको संस्थागत रूप” भन्दै सबैलाई आन्दोलनको निरन्तरताका लागि एकसाथ अघि बढ्न आह्वान गरेकी छन्।





