
भक्तपुर । शून्यबाट सुरु भएको एउटा सानो प्रयास, एउटा टेबल र एउटा कुर्सीबाट सुरु भएको सेवा आज देशकै सबैभन्दा प्रतिष्ठित प्रत्यारोपण केन्द्रको रूपमा स्थापित भएको छ । यो असम्भवलाई सम्भव बनाउने व्यक्तित्व हुन् वरिष्ठ मिर्गौला रोग विशेषज्ञ तथा अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ ।
१३ वर्षअघि भक्तपुर अस्पताल परिसरमा मानव अंग प्रत्यारोपण केन्द्रको सेवा विस्तारका लागि उनले नेतृत्व सम्हालेका थिए । त्यतिबेला साधनस्रोत न्यून, ठाउँ साँघुरो, सुविधा सून्य थियो । तर डा पुकारको असाधारण योगदान, समर्पण र अथक प्रयासको कारण आज यो केन्द्रले १५ सयभन्दा बढी मिर्गौला प्रत्यारोपण र ३५ कलेजो प्रत्यारोपण गरी इतिहास रचेको छ ।
डा. श्रेष्ठको निरन्तर नेतृत्वमा रहेको ‘मानव अंग प्रत्यारोपण केन्द्र’ पछि ‘शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र’ नामले चिनिन पुग्यो । विसं २०६९ सालमा स्वास्थ्य मन्त्रालय मातहत स्थापना भएको यो केन्द्रमा उनले डेढ वर्ष बाहेक निरन्तर नेतृत्व गरे । यो केन्द्रलाई उनले अन्तर्राष्ट्रिय स्तरमै परिचित बनाउने उचाइसम्म पुर्याए ।
मंगलबार डा पुकारचन्द्र श्रेष्ठको औपचारिक विदाई भएको छ । सेवा निबृत्त भएका उनलाई केन्द्रले बिदाइ कार्यक्रमका बीच योगदानको विशेष कदर गर्दै स-सम्मान बिदाइ गरेको हो ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, संस्कृतिविद् तिलक कायस्थ, समाजसेवी सोम थापा, भक्तपुर अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्ट, अङ्ग प्रत्यारोपीत झंक श्रेष्ठ, केन्द्रका चिकित्सक तथा कर्मचारी प्रतिनिधिहरू सबैले उनलाई सम्मान गरे । कार्यक्रममा उनकी जीवनसंगिनी नविना श्रेष्ठलाई समेत दोसल्ला ओढाएर कदर गरिएको थियो ।
मस्तिष्क मृत्यु भएका सात जना व्यक्तिको अंगदानमार्फत १३ जनामा मिर्गौला, ४ जनामा कलेजो र एक जनामा मिर्गौला तथा कलेजो दुवै प्रत्यारोपण गरेर केन्द्रले नेपालको इतिहासमै अभूतपूर्व उपलब्धि हासिल गरेको छ । यसले देशमा अंगदान संस्कृतिलाई बलियो आधार दिएको छ ।
डा. श्रेष्ठले आफ्नो नेतृत्वकालमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको अथक मेहनत र एकताले नै केन्द्रलाई आजको शिखरसम्म पु¥याएको बताए । अवकासपछि पनि आफूले सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
सोही अवसरमा ‘केन्द्रको अन्तरकथा’ नामक पुस्तकको विमोचन गरियो, जसमा शून्यदेखि शिखरसम्मको संघर्षयात्रा र सफलता समेटिएको छ ।
डा. पुकारचन्द्र श्रेष्ठ केवल एक चिकित्सक मात्र होइनन्, उनी नेतृत्व, प्रतिबद्धता र प्रेरणाको प्रतिमूर्ति पनि हुन् । उनले देखाएको बाटोले अंग प्रत्यारोपण मात्र होइन, सम्पूर्ण स्वास्थ्य क्षेत्रलाई नयाँ अध्यायमा प्रवेश गराएको र उनको योगदान सदैव स्मरणीय रहने उनका सहकर्मीहरु बताउँछन् ।





