एक महिनामै ३० जनाको मिर्गौला प्रत्यारोपण, अङ्गदानमा महिला अगाडि

भक्तपुर । भक्तपुर-१ दुधपाटीस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक महिनाको अवधिमा ३० जनाको सफल मिर्गौला प्रत्यारोपण गरेर ऐतिहासिक उपलब्धि हासिल गरेको छ । गत असार महिनामा सम्पन्न यी सबै प्रत्यारोपणहरू शतप्रतिशत सफल समेत भएका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा १ सय ८६ मृगौला र ८ कलेजो प्रत्यारोपण भएका केन्द्रले जनाएको छ । यसै अवधिमा केन्द्रको नेतृत्वमा प्रादेशिक अस्पतालहरू—सुर्खेत, पोखरा, र भेरीमा पनि ८ मृगौला प्रत्यारोपण भएका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जनाएका छन् ।

केन्द्रले यो वर्ष एक जना मस्तिष्क मृत व्यक्तिबाट लिइएको मिर्गौला र कलेजो एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरेर प्रत्यारोपणको इतिहासमा अर्को सफलताको रेकर्ड राख्न समेत सफल भएको छ ।

उमेर, लिंग र क्षेत्रगत विवरण

प्रत्यारोपण गरिएका बिरामीहरू १४ देखि ७१ वर्ष उमेर समूहका थिए, जसमध्ये २० देखि ४९ वर्ष समूहमा पर्नेहरू करिब ८० प्रतिशत छन्। यसले युवा उमेरमा पनि मिर्गौलाले काम गर्न नसक्ने समस्या बढेको संकेत गर्छ ।

गत आर्थिक वर्षमा  १ सय ३६ जना पुरुष (७३%) र ५० जना महिला (२७%) गरी कुल १ सय ९४ अङ्ग प्रत्यारोपण गरिएका छन् ।

देशभरका सातवटै प्रदेशबाट बिरामीहरू प्रत्यारोपणका लागि केन्द्रमा आएका थिए। तीमध्ये बागमतीबाट सबैभन्दा बढी र सुदूरपश्चिमबाट सबैभन्दा कम बिरामी आएका केन्द्रले जनाएको छ ।

जातीय विवरणअनुसार ५२ प्रतिसत बिरामी आदिवासी जनजाति रहेका छन् ।

अङ्गदानमा महिला अगाडि 

केन्द्रमा गरिएका अङ्ग प्रत्यारोपणमा पुरुषको संख्या अगाडि भएपनि ती अङ्गदानमा भने महिला अगाडि देखिएका छन् ।

अंगदाता ७० प्रतिशत महिला रहेका केन्द्रको तथ्यांकले देखाएको छ । जबकी ३० प्रतिशत पुरुष अङ्गदानमा सामेल छन् ।

अङ्ग प्रत्यारोपण गर्नेमा ७३ प्रतिसत पुरुष भएपनि अङ्गदानमा भने ३० प्रतिसत मात्र पुरुष सहभागिता देखिएको छ । पुरुषमा भन्दा महिलामा आफन्तप्रति भावनात्मक समर्पण, मायाप्रेम र त्यागको मात्रा बढी भएकै कारण पनि उनीहरू अङ्गदानमा अगाडि देखिएका केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ बताउँछन् ।

सेवाको अवस्था र चुनौती

स्थापनाको १३ वर्षको अवधिमा केन्द्रले १ हजार ४ सय ७१ जनामा मिर्गौला र ३४ जनामा कलेजो प्रत्यारोपण गरिसकेको छ।

संघीय स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको केन्द्रले हाल बागमती, गण्डकी, लुम्बिनी, र कर्णाली प्रदेशमा सेवा विस्तार गरिसकेको भए पनि बाँकी तीन प्रदेशमा सेवा सुरु गर्नुपर्ने चुनौती अझै बाँकी रहेको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठ बताउँछन् ।

केन्द्रको छैन आफ्नै भवन

संघीय सरकार मातहतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आफ्नै भवन भने छैन । वागमती प्रदेश सरकार मातहतको भक्तपुर अस्पतालको अस्थायी संरचनाबाट केन्द्रले सेवा दिइरहनुपरेको छ ।

केन्द्रले भक्तपुरको सल्लाघारी, सूर्यविनायकको इट्टा टायल कारखाना वा, गणेशमान बाटिका र चाँगुनारायणको सुडाल क्षेत्रमध्ये कुनै उपयुक्त स्थानमा जग्गा प्रदान गर्न सरकारसँग आग्रह गर्दै आएको छ ।

उपयुक्त स्थानमा जग्गा पाए आफ्नै श्रोतबाट समेत भौतिक संरचना निर्माण गर्न सक्षम रहेको केन्द्रले भन्दै आएको भएपनि जग्गा प्राप्ति हुनसकेको छैन । चाँगुनारायण-३ झौखेलमा पाएको जग्गा भने सेवा बिस्तारका लागि अपायक र अनुपयुक्त रहेको केन्द्रले जिकिर गर्दै आएको छ ।

के भन्छन् कार्यकारी निर्देशक श्रेष्ठ 

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ पर्याय जस्तै बनेका छन् । लामो समय केन्द्रको नेतृत्वमा रहेका डा श्रेष्ठ भौतिक संरचनाको अभाव, न्यून पारिश्रमिक र कम सुविधाबीच पनि केन्द्रले विश्वस्तरीय सेवा दिइरहेको दावी गर्छन् ।

केन्द्रले देशभर गरिने दुई तिहाइ प्रत्यारोपण सेवा प्रदान गरिरहेको र आर्थिक बिपन्नता भएका बिरामीको लागि यो नै एकमात्र बिकल्पको रुपमा रहेको उनको भनाइ छ ।

कार्यकारी निर्देशक डा श्रेष्ठ भन्छन्, “उपयुक्त जग्गा पाए केन्द्रले आफ्नै स्रोतमा ५ सय बेडको भवन बनाएर वार्षिक ५ सय मिर्गौला र कम्तीमा ५० कलेजो प्रत्यारोपण गर्न सक्नेछ, जसबाट अरबौं रुपैयाँको प्रत्यारोपण खर्च बिदेशिनबाट बच्नेछ।”