अङ्ग दानप्रति भ्रम र नीति नियम खुकुलो नहुँदा अङ्गदानमा २० प्रतिसत मात्र उपलब्धि

भक्तपुर । नेपालमा मिर्गौला, कलेजो लगायतका जीवनरक्षक अङ्गले काम नगर्ने अवस्थाका बिरामीको संख्या वर्षेनी बढ्दै गएको छ, तर उपलब्ध दाताको संख्या आवश्यकताको २० प्रतिशतसम्म पनि पुग्न सकेको छैन।

विश्व अङ्गदान दिवसका अवसरमा शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा आयोजित विशेष कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले समाजमा अङ्ग दान गर्ने मानिस स्वर्ग नजाने भ्रम फैलाइएकोले अङ्ग दान गर्नेहरू अपेक्षित रुपमा बढ्न नसकेका बताएका छन् ।

साथै, मन्त्री पौडेलले अङ्ग प्रत्यारोपणका नीति र नियम कडा हुँदा पनि अङ्ग दान पर्याप्त हुन नसकेको स्वीकार गरे ।

सो अवसरमा मन्त्री पौडेलले नीति नियम खुकुलो बनाउने, जनस्तरमा व्यापक जनचेतना फैलाउने र अङ्ग दातालाई निःशुल्क बीमा सुविधा र सम्मानको वातावरण बनाएर अङ्ग दानमा प्रोत्साहित गर्ने प्रतिवद्धता पनि प्रकट गरेका छन् ।

मन्त्री पौडेलले अङ्ग प्रत्यारोपण गर्नेले अब थप दुई लाख सुविधा पाउने उद्घोष पनि गरे ।

“बीमा योजनासँग विपन्नलाई जोड्दा प्रत्यारोपण सुविधा ९ लाख रुपैयाँसम्म पुग्छ, अब रकम अभावले उपचार प्रभावित हुँदैन ।” उनले भने ।

मन्त्री पौडेलले अङ्ग प्रत्यारोपणका लागि छुट्टै प्रतिष्ठान स्थापना गर्न आवश्यक भएको पनि बताएका छन् । हालका ८ प्रतिष्ठानलाई आगामी केही वर्षमै २१ पुर्याउने लक्ष्य राखिएको उनले जानकारी दिए। क्यान्सर उपचारका लागि  पनि छुट्टै प्रतिष्ठानको उनले आवश्यकता औल्याए ।

“प्रतिष्ठानको प्रशासनीक खर्च नबढोस भन्ने हेतुले एकीकृत संरचनामा लैजाने योजना छ ।” उनले भने ।

संघीय अस्पतालमा न्यूनतम ५ सय बेड क्षमताको बनाउने र सेवा क्षमता तीन गुणा बढाउने योजनासमेत उनले प्रस्तुत गरे ।

सो अवसरमा मन्त्री पौडेलले स्वास्थ्य बीमाप्रति राज्यको दोहोरो नीतिले गर्दा अस्पतालहरुले बीमा रकम भुक्तानी पाउन नसकिरहेका खुलासा गरे ।

स्वास्थ्य बीमालाई बलियो बनाउन श्रोत सुनिस्चित नगरी सामाजिक सुरक्षा कोषलाई अघि बढाउनु कमजोरी भएको उनको भनाइ छ । 

कार्यक्रममा मन्त्री पौडेलले यो वर्षभित्र पेटस्क्यान सुविधा उपलब्ध गराउने र आइभिएफ (IVF) निर्देशिका कानुनी छाताभित्र ल्याएर लागू गर्ने घोषणा गरे ।

कार्यक्रममा भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले एकै हातामा रहेका मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुर अस्पताल र भक्तपुर क्यान्सर अस्पताललाई समेटेर  स्वास्थ्य बिज्ञान प्रतिष्ठान बनाउनुपर्ने आवश्यकता औल्याएका थिए ।

स्वास्थ्य क्षेत्रको बढ्दो माग पूरा गर्न र युवालाई बिदेशीनबाट रोक्न ५ देखि १० हजार जनशक्तिलाई तत्काल रोजगारी र दीर्घकालीन योजना बनाउन उनले मन्त्री पौडेलको ध्यानाकर्षण गराए ।

त्यस्तै, भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले अंगदानलाई सबैभन्दा ठूलो दानको रूपमा उल्लेख गर्दै अंग जोगाउनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

अङ्ग प्रत्यारोपण गर्न सयौंजना पछि पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रत्यारोपण केन्द्रलाई पर्याप्त स्थान उपलब्ध गराइ स्थानान्तरण र सेवा बिस्तारमा उनले जोड दिएका छन् । 

यस अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मस्तिष्क मृत्युपश्चात हुने अंगदान र प्रत्यारोपणको सुरुवात स्वास्थ्य क्षेत्रकै ऐतिहासिक उपलब्धी भएको टिप्पणी गरे ।

नेपालमै मिर्गौला र कलेजो प्रत्यारोपणले राज्यको अरबौं रुपैयाँ विदेशिनबाट जोगाएको र यो सेवा सबै जनताको पहुँचमा पुग्नुपर्ने उनको भनाइ छ । स्वास्थ्य क्षेत्र सरकारको दायित्व भएको र  स्वास्थ्य बीमा सेवालाई अझ प्रभावकारी बनाउन पर्ने नगर प्रमुख प्रजापतिले प्रष्ट पारेका छन् ।

मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक पुकार चन्द्र श्रेष्ठले सामाजिक अन्धविश्वास, कानुनी जटिलता, दाताको कमी र केन्द्रमा ठाउँ र जनशक्ति पर्याप्त नहुनु सेवाको मुख्य अवरोध भएको बताए । यसका बाबजुद प्रत्यारोपण केन्द्रको सेवामा गर्व गर्न लायक प्रगति भएको प्रति उनले सन्तोष व्यक्त गरेका छन् ।

कार्यक्रममा ब्रेन डेथबाट नयाँ जीवन पाएका ललितपुरका शिव महर्जनले आफ्नो अनुभव सुनाउँदै मृत्युपछि पनि अरूलाई जीवन दिन सकिने महत्त्वबारे भावुक अनुभव सुनाए।

वरिष्ठ नेफ्रोलोजिष्ट डा. कल्पनाकुमारी श्रेष्ठका अनुसार हालसम्म २ हजार ७ सय ७३ भन्दा बढी व्यक्तिले मस्तिष्क मृत्युपछि अंगदानको सहमति दिएका छन् र घरमै बसेर पनि अंगदान गर्न सकिने व्यवस्था छ।

यसरी प्राप्त अङ्ग कसलाई दिने भन्नेमा स्कोर प्रणाली लागू भएको छ, जसमा बढी स्कोर ल्याउने बिरामीलाई प्राथमिकता दिइने गरेको उनले जानकारी गराएकी छन् ।

अङ्ग दातालाई फलो अप उपचारमा सुविधा र उचित सम्मान दिनुपर्नेमा उनले जोड दिइन् ।

नेपालमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (HOTC), वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा), सुर्खेत प्रादेशिक अस्पताल र अन्य स्थानहरूमा मिर्गौला तथा कलेजो प्रत्यारोपण भइरहेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा १ सय ८६ मृगौला र ८ कलेजो प्रत्यारोपण भएका केन्द्रले जनाएको छ । यसै अवधिमा केन्द्रको नेतृत्वमा प्रादेशिक अस्पतालहरू—सुर्खेत, पोखरा, र भेरीमा पनि ८ मिर्गौला प्रत्यारोपण भएका थिए ।

हालसम्म केन्द्रमा करिब १ हजार १ सय र देशभर गरी १ हजार ५ सय ब्यक्तिमा मात्र अङ्ग प्रत्यारोपण गर्न सकिएको छ ।

नेपालमा करिब ३ हजार मिर्गौला र १ हजार कलेजो फेल हुने गरेका अनुमान छ । तर, प्रत्यारोपण त्यो हिसाबले हुन सकेको छैन । सयौं मानिस प्रत्यारोपणका लागि पालो कुर्न बाध्य छन् भने कतिपय बिरामी अङ्ग प्राप्त गर्न नसक्दा बिक्षिप्त बनेका छन् ।

विशेषज्ञहरूको भनाइमा अङ्गदानप्रति सकारात्मक सामाजिक धारणा निर्माण गर्न निरन्तर जनचेतनामा जोड दिदैँ स्वास्थ्य पूर्वाधार विकास र कानुनी प्रक्रिया पनि सहज बनाउनुपर्नेछ । यस्ता सुधारले मात्र नेपालमा अंगदान र प्रत्यारोपण सेवा जीवनरक्षक, समान पहुँचयुक्त र दीर्घकालीन रूपमा प्रभावकारी बन्ने सहभागीहरुले बिश्वास व्यक्त गरेका छन् ।

सो कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठ, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे,प्रहरी उपरीक्षक माधव बुढाथोकी, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा सुशील चालिसे, भक्तपुर अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्ट लगायतको समेत  आतिथ्यता रहेको थियो ।

यो पनि पढ्नुहोस् 

एक महिनामै ३० जनाको मिर्गौला प्रत्यारोपण, अङ्गदानमा महिला अगाडि