काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको शैक्षिक सम्मेलनमा ‘शिक्षामा डिजिटल प्रविधिको प्रयोग र यसको चुनौती’ विषयक गहन समूहगत छलफल गरिएको छ।
राष्ट्रिय सभागृहको सिटी हलमा सम्पन्न कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका पूर्व सचिव रहेका एडुटुडेका सम्पादक एवं शैक्षिक सुधारका अभियन्ता प्रभात चलाउनेले गरेका थिए।
छलफलमा प्रविधिको प्रयोगमार्फत शिक्षा क्षेत्रमा देखिएका अवसर र चुनौतीबारे मन्थन गरिएको थियो ।
शिक्षामा ‘एम्पावर मोडल’ को वकालत
मिदास टेक्नोलोजीका संस्थापक छत्रहरि कार्कीले विद्यालयमा प्रविधिको प्रयोगलाई विकल्प होइन, सशक्तिकरण (Empower Model) को रुपमा लिनुपर्ने धारणा राखे।
सन् २००१ मा मिदास स्थापना भएको उल्लेख गर्दै उनले ‘सिडीदेखि एआईसम्म’को यात्रा स्मरण गरे।
“आजको कक्षा कोठाका हिरो शिक्षक नै हुन्,” भन्दै उनले प्रविधिको सहाराले शिक्षकको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने बताए ।
उनका अनुसार, कोरोना महामारीको समय अघि मिदास पहिचानकै लडाइमा रहेको भएपनि कोरोनाकालमा भने करिब ७ लाख विद्यार्थी डिजिटल माध्यमबाट शिक्षाको पहुँचमा आएका थिए ।
हाल त्यो संख्या बढेर दोब्बर भएको उनले जानकारी दिए । उनले प्रविधिको प्रयोग ज्ञान वृद्धि गर्नका लागि गर्नुपर्नेमा जोड दिंदै भने, “हामीले प्रविधिबाट नक्कल होइन, नवज्ञान निर्माण गर्नुपर्छ।”
शिक्षाको स्रोत अब केवल शिक्षक मात्र होइनन्
‘My Second Teacher’ की संस्थापक मेधा भट्टराईले भने युकेको अध्ययनपछि नेपाल फर्किएर १२ वर्षअघि यो संस्था स्थापना गरेको अनुभव सुनाइन्।
शुरुवाती दिनहरूमा शिक्षकलाई इमेल चलाउनसमेत नआउने अवस्था रहेको स्मरण गर्दै उनले प्रविधिमा आधारित शिक्षालाई प्रारम्भमै चुनौतीपूर्ण यात्रा भनेकी थिइन्।
“शिक्षाको स्रोत अब केवल शिक्षक मात्र होइन,” भन्दै उनले खुला सोच (Open Mindedness) र नवप्रवर्तनको आवश्यकतामा जोड दिइन्।
उनका अनुसार कोभिड–१९ ले नेपालमा डिजिटल शिक्षाको विकासमा कोशेढुङ्गाको काम गर्यो। तर, दक्ष जनशक्तिको अभाव र नवप्रवर्तनकारी सोच भएका व्यक्ति कम हुनु ठूलो चुनौती हो। “हामीले विश्वलाई पछ्याउने होइन, लिड गर्नुपर्छ,” उनको भनाइ थियो।
प्रविधि शिक्षकको प्रतिस्पर्धी होइन, सहयोगी हो
Ambition Guru का संस्थापक प्रकाश पाण्डेले डिजिटल पूर्वाधार, एआई र प्रविधि शिक्षामा शिक्षकको प्रतिस्पर्धी होइन, सहयोगी हुने स्पष्ट पारे।
“प्रविधिको सहायताले सामूहिक (Mass) शिक्षण सम्भव हुन्छ,” भन्दै उनले प्रविधिप्रतिको गलत धारणा हटाउनुपर्ने बताए।
उनका अनुसार, शिक्षक र अभिभावकलाई प्रविधिमा विश्वास दिलाउन प्रयास गरिए पनि अब प्रधानमन्त्रीको स्तरबाटै प्रष्ट दृष्टिकोण र योजना आवश्यक छ।
उनले हालसम्म १ लाख ७० हजार सामुदायिक विद्यालयका विद्यार्थीलाई निशुल्क डिजिटल कक्षा प्रदान गरिएको जानकारी दिए।
“गुरु केवल ज्ञान दिने होइन, भावनात्मक समर्थन पनि दिने व्यक्ति हुन्,” भन्दै उनले प्रविधिमा ‘गुरुपन’ हराउन नहुने धारणा राखे।
निष्कर्ष
विज्ञहरूले शिक्षा प्रणालीको मौलिक सुधारको लागि सरकार, शिक्षक, अभिभावक, विद्यालय र प्रविधि प्रदायकबीच सहकार्य अनिवार्य भएको उल्लेख गरेका छन्।
शिक्षा सम्मेलनले नेपालको शिक्षामा डिजिटल रुपान्तरणका सम्भावना, आवश्यकता र चुनौतीहरूबारे बहसको थालनी गरेको र बुक फ्री फाइडेजस्ता कार्यक्रम मार्फत विद्यार्थीको शिक्षण सिकाइलाई नविनतातर्फ लगिरहेकोमा सरोकारवालाले सन्तोष ब्यक्त गरेका छन् ।
काठमाडौ महानगरको दुई दिने शिक्षा सम्मेलन शनिबार सम्पन्न भएको छ । यस सम्मेलनमा शिक्षा क्षेत्रमा नवीन योजना, प्रविधि र कार्यान्वयनका अभ्यासहरू प्रस्तुत गरिएका छन् ।
नीति निर्माता, शिक्षक, शिक्षा उद्यमी, विकास साझेदार लगायतको सक्रिय सहभागिताले सम्मेलन सार्थक बनेको आयोजकले बिश्वास ब्यक्त गरेको छ ।