समाजवादी जीवनशैलीतर्फ नगई हुँदैन- प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जीवनलाई अरुकालागि प्रेरणादायी बनाउन प्रेरित गरेका छन् ।

शनिवार पार्टीका केन्द्रीय सल्लाहकार कृष्णलाल गोजा श्रेष्ठको श्रद्धाञ्जली सभालाई मध्यपुर थिमिमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जीवन कस्तो बनाउने आफ्नै हातमा भएको प्रष्ट पारे ।

“मृत्यु हाम्रो हातमा छैन तर, जीवन कसरी बाच्ने हाम्रै हातमा छ ।” उनले भने, “जीवन यस्तो होस्, सबैले सम्मान र अनुशरण गरुन् ।”

अध्यक्ष प्रचण्डले कम्युनिष्ट बिचार बोक्नेहरुको ब्यवहार सरल, सामाजिक, श्रम र उत्पादनमा केन्द्रीत तथा पारदर्शी हुनुपर्नेमा जोड दिए ।

“अब समाजवादी जीवनशैलीतर्फ नगई हुँदैन ।” उनले भने ।

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हित, समानता, न्याय र समान अवसरलाई प्राथमिकता दिने मानिस मृत्युपछि पनि समाजमा जीवितै रहने उनको भनाइ छ ।

Prachanda
Prachanda

आफ्नो नेतृत्वमा पार्टीमा रुपान्तरण अभियान चलिरहेको र आफू नेतृत्वको अघिल्लो सरकारले जनतामा आशा जगाएको जिकिर गर्दै अध्यक्ष प्रचण्डले पार्टीका नेताकार्यकर्तामा पनि कम्युनिष्ट बिचार अनुरुपकै ब्यवहार हुनुपर्ने बताए ।

“हाम्रो ब्यवहारमै समाजवादी क्रान्तिको भविष्य निर्भर छ ।” उनले भने ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले मध्यपुर थिमिका नेता कृष्णलाल गोजा श्रेष्ठ जस्ता कम्युनिष्ट नेताको जीवनचर्या चर्चा गरेर भन्दा अनुशरण गरेर अघि बढ्नुपर्ने बताए ।

“कमरेड कृष्णलालले मध्यपुरलाई मात्र नभई पूरै देशका कार्यकर्तालाई क्रान्ति र नेतृत्वप्रतिको बिश्वास र निरन्तर सक्रियतालाई उदाहरणको रुपमा प्रस्तुत गरेर जानुभएको छ ।” अध्यक्ष प्रचण्डले भने ।

उनले मध्यपुरको नेवा बस्तीमा कृष्णलालले कसरी क्रान्तिलाई सहयोग पुर्याए भन्ने स्मरण गर्दै नेवा: समुदाय जस्तै बिकशित सभ्यता भएका बिभिन्न समुदायलाई समाजवादको पाठशाला मान्न सकिने उल्लेख गरे ।

यहाँका बिबिध पक्षबाट सिकेर समाजवादको नेपाली मोडल बनाउने पक्षमा आफू रहेको पनि उनले बताएका छन् ।

श्रद्धाञ्जली सभामा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा,स्थायी समिति सदस्य लीलामणि पोखरेल, पूर्व मन्त्री एवं केन्द्रीय सदस्य शशी श्रेष्ठ,प्रतिनिधि सभा सदस्य एवं केन्द्रीय सदस्य गङ्गा कार्की, केन्द्रीय सदस्यहरु दिलिप प्रजापति भिस्म, प्रह्लाद बुढाथोकी, गोविन्द आचार्य, डिपी ढकाल, प्रतिमा श्रेष्ठ, रामप्रसाद सापकोटा दीपशिखा, उमा कपाली लगायतका केन्द्रीय नेताहरूको सहभागिता रहेको थियो ।

मध्यपुर थिमि नगर समितिका अध्यक्ष विजयकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका नेताकार्यकर्ताका साथै कृष्णलाल गोजाका पारिवारिक आफन्त र स्थानीयको समेत उपस्थिति रहेको माओवादी केन्द्रका जिल्ला संयोजक सुनिल गोठे बासुले बताए ।

को हुन् कृष्णलाल

Krishnalal Goja
Krishnalal Goja

भक्तपुरको मध्यपुर थिमिका अग्रज बामपन्थी नेता एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार कृष्णलाल गाेजा आफ्नो सरलता, इमान्दारी र क्रियाशिलताका कारण सर्वप्रिय ब्यक्तित्व हुन् ।

किसोर उमेरदेखि नै बामपन्थी राजनीतिमा क्रियाशिल रहेका कृष्णलाल एकता केन्द्र र जनमोर्चा हुँदै नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय रहेका थिए ।

मध्यपुर थिमि-४ निवासी कृष्णलालको ७३ वर्षको उमेरमा जेठ २६ गते बिहान उनकै निजी निवासमा असामयिक निधन भएकाे थियो ।

मधुमेहको नियमित औषधि सेवन गरिरहेका कृष्णलालको स्वास्थ्यमा समस्या थिएन । सोमबार बिहान करिब साढे ९ बजे घरमै बसिरहेका बेला उनको प्राण गएको र अस्पताल सम्म पनि पुर्याउन नपाएको पारिवारिक श्रोतले जनाएको छ ।

उनको निधनले कम्युनिष्ट आन्दोलनलाई अपूर्णणीय क्षति पुगेको छ । कृष्णलालका दुई छोरा र दुई छोरी छन् ।