भक्तपुर । मध्यपुर थिमिको बोडेमा मनाइने ऐतिहासिक जिब्रो छेड्ने जात्रामा यस वर्ष पनि परम्परालाई निरन्तरता दिँदै सुजन बाग श्रेष्ठले चौथोपटक जिब्रो छेडाएका छन्।
नयाँ वर्षको अवसर पारेर बिस्का जात्रा अन्तर्गत आयोजना हुने यो सांस्कृतिक परम्परामा सुजनको साहस र समर्पणप्रति बागमती प्रदेश सरकारले विशेष सम्मान जनाएको छ।
प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार सुजनलाई नगद दुई लाख रुपैयाँसहित सम्मान गरिएको हो। पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठले यस्तो सम्मानले परम्परागत जात्राको संरक्षण र पुस्तान्तरणमा थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरेका छन्।
बोडेमा हरेक वर्ष वैशाखको दोस्रो दिन मनाइने जिब्रो छेड्ने जात्रा, सिन्दुर जात्रापछि आयोजना गरिन्छ। यस जात्राको मुख्य आकर्षण नै जिब्रो छेडाउने व्यक्ति हुने परम्परा छ। यस वर्ष ३० वर्षीय सुजनले परिवारको परम्परा धान्दै पुनः जिम्मेवारी सम्हालेका हुन्। उनका बुवा र माइलो बुवाले पनि विगतमा पटक–पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका थिए।
धार्मिक विश्वासअनुसार जिब्रो छेड्दा गाउँमा रोगव्याधी नलाग्ने, बालीनाली राम्रो हुने र समृद्धि आउने जनविश्वास रहिआएको छ। जात्राअघि सुजनले स्थानीय देवीदेवताका मन्दिरमा पूजा गर्दै आशीर्वाद लिएका थिए। त्यसपछि सार्वजनिक रूपमा विशेष विधिअनुसार जिब्रो छेडिएको थियो।
जिब्रो छेडिसकेपछि उनले परम्पराअनुसार महाद्वीप बोकेर नगर परिक्रमा गरेका थिए। विभिन्न टोल परिक्रमा गर्दै अन्ततः महालक्ष्मी मन्दिरमा पुगेपछि विधिपूर्वक जिब्रोबाट सुइरो निकालेर जात्रा सम्पन्न गरिएको थियो।
सुजनको निरन्तरतालाई मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले युवापुस्ताको संस्कृति जोगाउने उदाहरणका रूपमा लिएका छन्। परम्परागत रूपमा श्रेष्ठ थरका व्यक्तिले मात्र जिब्रो छेड्न पाउने र त्यसका लागि साहस आवश्यक भएको भन्दै उपप्रमुख विजय कृष्ण श्रेष्ठले नयाँ पुस्ताको सक्रियताले जात्रालाई जीवित जीवित राख्न सकिएको बताएका छन्।
यस वर्षबाट बागमती प्रदेश सरकारले जिब्रो छेड्ने व्यक्तिलाई रु २ लाख दिन सुरु गरेको कारण जात्राको संरक्षणमा सहयोग पुग्ने उनीहरुले विश्वास व्यक्त गरे ।







