मध्यपुर महोत्सव २०८१’ शुक्रबारदेखि सुरु हुने

 
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आयोजनामा तीनदिने ‘मध्यपुर महोत्सव २०८१’ शुक्रबारदेखि सुरु हुने भएको छ। महोत्सवको उद्घाटन शुक्रबार बिहान साढे ९ बजे उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले बालकुमारी चोकमा गर्ने कार्यक्रम छ। नगर प्रमुख तथा महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र श्रेष्ठका अनुसार महोत्सवको तयारी पूरा भइसकेको छ।
 
यस महोत्सवले मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै नगर र नगरवासीको दीर्घकालीन आर्थिक समृद्धिमा योगदान पुर्याउने लक्ष्य लिएको छ। स्थानीय कला, संस्कृति, मौलिक पेशा, परिकार र उत्पादनलाई प्रवर्द्धन गर्दै ऐतिहासिक जात्रा र पर्वहरूको जानकारी प्रदान गरी पर्यटकलाई आकर्षित गर्नु महोत्सवको मुख्य उद्देश्य हो।
 
महोत्सवको कार्यक्रम शंखधर चोकदेखि बालकुमारी, चपाचो, नगदेश, बोदे, र तिगनिको नीलबाराहीसम्मका ऐतिहासिक बस्तीमा सञ्चालन हुने छ। महोत्सवमा ३५० भन्दा बढी स्टल रहने छन्, जसमा स्थानीय हस्तकला, नेवारी परम्परा, माटोका भाँडाकुँडा, सेरामिक्स, मूर्तिकला, परम्परागत खेलकुद र अन्य मौलिक उत्पादनको प्रदर्शन गरिनेछ।
 
महोत्सवमा २५ प्रकारका परम्परागत नाच, जस्तै अष्टमातृका नाच, लाखे नाच, मयुर नाच र महाकाली नाच प्रदर्शन हुनेछन्। साथै, धिमे बाजा, गुँला बाजा, बासुरी बाजा र दाफा भजनसहित २६ प्रकारका सांस्कृतिक बाजाहरू प्रदर्शित गरिनेछ। खानेकुराका ५० स्टल र पुस्तक प्रदर्शनीका ४ स्टल समेत समावेश गरिएका छन्।
 
यसअघि पनि ३ पटक महोत्सव आयोजना गरिएकाले  नगरलाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बनाउन योगदान पुर्याएको थियो। यसपटक महोत्सवले मध्यपुरका मौलिकतालाई जीवन्त राख्दै दीर्घकालीन पर्यटनमुखी कार्यक्रमको रूपमा विकास गर्ने प्रयास गरेको छ। महोत्सवको पूर्वसन्ध्यामा पत्रकारहरूलाई साढे पाँच किलोमिटर क्षेत्रको अवलोकन भ्रमण गराइएको थियो। 
 
यस्ता छन् महोत्सवका मुख्य आकर्षणहरु :
 
१. उदघाटन समारोह र साँस्कृतिक एवम् गेडागुडी प्रदर्शनी
२. बौद्ध सम्पदा प्रदर्शनी तथा भतिमालि (इन्द्र अप्सरा) नाच
३. बिसभन्दा बढी प्रकारका नेवाः भ्वय् प्रदर्शनी
४. पुरातात्विक सम्पदा प्रदर्शनी
५. नौबाजा, गुंलाबाजा र अय्लाः बनाउने मौलिक प्रविधि प्रदर्शनी
६. स्थानीय उत्पादन प्रदर्शनी र साँस्कृतिक कार्यक्रम
७. जिब्रो छेड्ने जात्राको प्रतिमूर्ती तथा मृतिकाकला प्रदर्शनी
८. बौद्ध सँस्कृति प्रदर्शनी
९. घरबुना कपडा बुन्ने मौलिक प्रविधि प्रदर्शनी
१०. महाकाली, पुलुकिसि र सलचा प्याखं
११. मृतिकाकला र यस सम्बन्धी मौलिक प्रविधि प्रदर्शनी
१२. स्थानीय घरेलु उत्पादन तथा सम्पदाहरूको फोटो प्रदर्शनी
१३. बुद्ध अस्थिधातु तथा बुद्ध जीवनी प्रदर्शनी
१४. ख्वाःपाः (मुकुण्डो) बनाउने मौलिक प्रविधि प्रदर्शनी
१५. जात्राको खत, पुलुकिसि र मल्लकालिन मुद्रा प्रदर्शनी
१६. नागचा र राजकुमार नाच प्रदर्शनी
१७. कृषि औजार प्रदर्शनी
१८. वापिज्या, महाकाली नाच, भेषभुषा र तामाङ्ग समुदायको प्रदर्शनी
१९. व्यापारिक प्रदर्शनी
२०. कृषि उत्पादन र मूर्तीकला प्रदर्शनी
२१. साँस्कृतिक प्रदर्शनी
२२. चित्रकला, छ्वाली कला प्रदर्शनी र समापन कार्यक्रम
२३. बिस्काजात्राको खत र जिब्रो छेड्ने जात्राको प्रतिमूर्ती प्रदर्शनी
२४. साँझ्या र नागाचा नाच प्रदर्शनी
२५. स्थानीय घरेलु उत्पादन प्रदर्शनी
२६. बिस्काजात्रा खत, तिकिंबजि बनाउने मौलिक प्रविधी प्रदर्शनी र धिन्ताधिसी प्रदर्शनी