कुभिण्डो काट्ने जात्राको लागि आवश्यक सामाग्री हस्तान्तरण

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले बिजयादशमीको भोलिपल्ट पापांकुश एकादशीको दिन मनाइने खाँ पिहाँवइगु जात्राका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

यो जात्रा परम्परागत रूपमा मल्लकालीन सेनाको झल्को दिने खालको हो, जहाँ सहभागीहरू फलामको टोपी, तलवार, खड्ग र ढाल बोकेर युद्धमा उत्रन लागेको सिपाही झैं देखिन्छन्। जात्राको अन्त्यमा भुईफसी (कुभिण्डो) काट्ने परम्परा भएकाले यसलाई भुईफसी पाल्यु जात्रा वा कुभिण्डो काट्ने जात्रा पनि भनिन्छ।

लामो समय रोकिएको यो परम्परा वर्तमान नगर नेतृत्वको पहलमा पुनः सुरु भएको हो। जात्रालाई थप आकर्षक बनाउन नयाँ सामग्री सहयोग गरिएको नगर उपप्रमुख बिजय कृष्ण श्रेष्ठले बताए ।

नगरपालिकाले नगदेश लाय्कुलाई ८ वटा पित्तलको टोपी, ४ वटा पोंगा बाजा र २ वटा ट्याम्पो हस्तान्तरण गरेको छ।  ती सामग्री लाय्कुका नायो पमा (नाईके प्रधान) लाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरको ऐतिहासिक एवं सास्कृतिक जात्रा एवं मौलिक पर्वहरुको जगेर्ना र यसमा लाग्नेहरुलाई प्रोत्साहित गर्न आवश्यक सहयोग पालिकाले गरिरहने प्रतिवद्धता प्रकट गरेका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरकी उपप्रमुख सुजाता बादे बैद्य, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडाअध्यक्ष कृष्णकुमार प्रजापतिलगायतको समेत उपस्थिति रहेको थियो ।

खाँ पिहाँवइगु जात्राका पापांकुश एकादशीसँग सम्बन्धित छ, जसलाई पाप नाश गर्ने दिन मानिन्छ। जात्राको अन्त्यमा भुईफसी (कुभिण्डो) काट्ने परम्परा छ, जसलाई असत्य, अन्याय र पाप नष्ट गर्ने प्रतीकका रूपमा लिइन्छ।

कुभिण्डो काटेर पृथ्वीमा छताछुल्ल पार्नु भनेको नकारात्मक शक्तिलाई नस्ट गर्नुभएको धार्मिक स्थानीय बताउँछन् । यो पर्वले स्थानीयलाई आत्मनिर्भर हुन संकटमा सामूहिक प्रतिरोध गर्न सिकाउने नेपाल पत्रकार महासंघ भक्तपुरका पूर्व अध्यक्ष जगत प्रजापतिले बताएका छन् ।

जात्रा स्थानीय समुदायको सामूहिक सहभागितामा आधारित हुन्छ, जसले एकता, सहकार्य र संस्कृतिको संरक्षणलाई बल पुर्‍याउँने नगरपालिकाले बिश्वास लिएको छ ।