ललितपुर । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणाको घरमा आइतबार साँझ प्रहरीको विशेष टोलीले छापा मारेको छ।
सीआईबी (केन्द्रीय अनुसन्धान ब्युरो) बाट खटिएको टोलीले ललितपुरको जावलाखेलस्थित राणाको निवास वरिपरि घेराबन्दी गर्दै खानतलासी सञ्चालन गरेको हो। छापामा स्थानीय प्रहरी पनि संलग्न थिए।
घरभित्र रहेका कागजात, कम्प्युटर, मोबाइललगायतका विद्युतीय उपकरणहरू जफत गरिएको श्रोतले जनाएको छ। छापाको औपचारिक कारणबारे प्रहरीले अझै स्पष्ट जानकारी दिएको छैन, तर गोप्य सूचनाको आधारमा कारबाही गरिएको बताइन्छ।
भूषण राणा कांग्रेस नेतृ तथा पूर्वमन्त्री आरजु राणा देउवाका भाई हुन्। अघिल्ला दिनमा उनले ठेक्का–पट्टा र ठूला डिलमा संलग्न भएको आरोप खेप्दै आएका थिए। कतिपय संवेदनशील लेनदेनमा आरजु राणाको प्रतिनिधिका रूपमा सक्रिय रहेको दाबी पनि विभिन्न मिडियामा चर्चित रहँदै आएको छ।
राणा पक्षले भने यस्ता सबै आरोपलाई निराधार बताउँदै आएको छ। तर, सीआईबीको हालको छापामारीले यस विषयलाई पुनः राजनीतिक तथा कानुनी बहसको केन्द्रमा ल्याएको देखिन्छ।







