भक्तपुरमा दुई दशक बढी जनसेवामा सक्रिय दीपशिखा भन्छन् – जीवन रहेसम्म जनसेवामा समर्पित

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिकाको ऐतिहासिक एवं सांस्कृतिक नगरी नगदेशमा आफ्नो चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ।

नगदेशको न्याचामा स्थापना गरिएको कार्यालय शुक्रबार शहीद दिवसको अवसर पारेर सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार रामप्रसाद सापकोटा दीपशिखा र समानुपातिक उम्मेदवार दिलिप प्रजापति भीष्मले उद्घाटन गरेका छन् ।

सो अवसरमा कार्यकर्ता र स्थानीयलाई सम्बोधन गर्दै भक्तपुर क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फका उम्मेदवार एवं केन्द्रीय नेता राम प्रसाद सापकोटा दीपशिखाले आफू सधैँ जनताको सुख-दुःखमा साथ रहेको र आगामी दिनमा पनि साथै रहने प्रष्ट पारे ।

भक्तपुरको राजनीतिमा दुई दशक बढी बिताएका दीपशिखाले भने “हिजो पनि जनताको सेवामा समर्पित थिएँ, आज पनि छु र भोलि पनि जनताकै सेवामा जीवन समर्पित गर्नेछु ।”

आफ्नो उम्मेदवारी ब्यक्तिगत पदका लागि नभई प्रतिनिधि सभामा पुगेर देशमा सुशासन र समृद्धि ल्याउन तथा जनसेवामार्फत सबै नागरिकलाई राज्यको पहुँचमा पुर्याउन र विशेषगरी भक्तपुर-२ का जनताको समस्या समाधान र  विकासनिर्माणको नेतृत्व गर्न भएको उनको भनाइ छ ।

कार्यक्रममा समानुपातिक उम्मेदवार एवं केन्द्रीय नेता दिलिपकुमार प्रजापति भीष्मले निर्वाचन जनताले चाहेर नभई अघिल्लो सरकारको कुशासन र दमनकारी नीतिका कारण निम्तिएको बाध्यात्मक परिस्थिति भएको बताए ।

“कांग्रेस-एमाले सरकारको गलत निर्णयले गर्दा देशले कहिल्यै देख्न नचाहेको दुखद मोड देख्नुपर्‍यो।” उनले भने, “जेन्जी आन्दोलनमा उत्रिएका नवजवान युवाहरूले ज्यान गुमाउनु पर्ने, हजारौँ घाइते हुनुपर्ने र खरबौ रुपैयाँ क्षति ब्यहोर्नुपरेको बिर्सनु हुदैन ।”

मतदाताले अब सहि र गलत चिन्नै पर्नेमा जोड दिदै उनले लोडसेडिङ अन्त्य गर्ने र भ्रष्टाचारीमाथि कारबाहीको डण्डा चलाउने नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमिमा स्ववासीलाई लालपुर्जा दिने लगायतका जनपक्षीय काम गरेकोले यस पटक जनताले विजय गराउने विश्वास व्यक्त गरे ।

​पुरातात्त्विक र सांस्कृतिक महत्त्वको नगरी नगदेशमा सम्पर्क कार्यालय स्थापना भएपछि स्थानीय कार्यकर्तामा उत्साह थपिएको नगर उपाध्यक्ष नरेश रन्जितले बताएका छन् ।

लामो समयदेखि राजनीति र जनसेवामा सक्रिय प्रजापति र सापकोटा दुवै “जनताको सेवा गर्ने व्यग्र चाहना” बोकेर चुनावी मैदानमा होमिएका र मध्यपुर थिमिमा पार्टीका नगर अध्यक्ष बिजय कृष्ण श्रेष्ठ नगरपालिकाको उपप्रमुख निर्वाचित भइ जनपक्षीय काम गरिरहेकाले नेपाली कम्युनिस्ट पार्टीले यो क्षेत्रलाई आफ्नो जितको आधार मान्ने गरेको छ ।

भक्तपुर-२ मा तत्कालीन नेकपा (माओवादी) २०६४ सालमा दोश्रो र २०७० को निर्वाचनमा तेस्रो भएको थियो । त्यसयता भने यो पार्टीले गठबन्धनका अन्य घटकलाई सघाउदै आएको थियो । माओवादीकै सहयोगमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत र पछिल्लो समय नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले प्रतिनिधि सभाको यात्रा तय गरेका थिए । 

कुनैबेला बलियो जनमत भएको माओवादी अहिले एकीकृत समाजवादी लगायत दर्जनौं दलसंग एकता गरी नेपाली कम्युनिस्ट पार्टी बनेको र भक्तपुर-२ मा प्रभावशाली नेतालाई चुनावी मैदानमा इतारेकाले यसका कार्यकर्ता उत्साहित देखिन्छन् ।

जेनजी आन्दोलनपछि कांग्रेस र एमाले रक्षात्मक रहेका छन् । उनीहरूका उम्मेदवार जनमतको परीक्षणमै छन् ।

जेनजी आन्दोलनपछिको चुनावी परिवेशमा महत्वाकांक्षी देखिएको रास्वपा लगायतका दललाई नसोचेको झट्का दिने दम भएको दलमा नेपाली कम्युनिस्ट पार्टी र यसका उम्मेदवार दीपशिखालाई लिने गरिएको छ ।

संयोगवस दीपशिखा बहुचर्चित संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)का पूर्व अध्यक्ष एवं इन्चार्ज हुन् भने समानुपातिक उम्मेदवार प्रजापति पनि सोही संगठनका सस्थापक महासचिव रहीसकेका नेता हुन् । उनीहरू दुबै संग प्रसस्त चुनावी अनुभव रहेको छ जसले नेपाली कम्युनिस्ट पार्टीलाई मतदातासंग जोड्न मद्दत गर्नेछ ।