कांग्रेसले युवाहरू विदेश जान नपर्ने वातावरणमा बनाउँछ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसको कार्यकालमा नेपाली युवाहरू विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौं ४ मा शनिवार भएको कार्यक्रममा बोल्दै नेपाली युवाहरूलाई नेपालमै काम उपलब्ध गराउने वातावरण बनाउने बताए।

उनले भने, ‘नेपाली युवाहरू अब विदेशमा भौँतारिनु पर्दैन। हामी नेपालमै युवाहरूलाई रोजगारी दिलाउने छौँ । काठमाडौंका फुटपाथमा सामान बेच्नेको भविष्य सुरक्षित हुने, कसैको बाँच्ने आधार खोस्दैनौँ। काठमाडौँमा अब कोही पनि फुटपाथमा काम गरेर खाने मजदुरहरूको गाँस खोसिँदैन।’

उनले अब स्थानीय तह बलियो बनाउने अभियान कांग्रेसमा सुरु भएको बताए। उनले भने, ‘अब कांग्रेस बनाउने अभियान सुरु भएको छ। बदलिएको कांग्रेसले सबैको आवाज सुन्छ। युवाको आवाज सुन्छ। जेनजीको आवाज सुन्छ।’

उनले अब अमूर्त कुरा नभएर कांग्रेसले कामलाई प्राथमिकता दिएर अगाडि बढ्ने प्रतिबद्धता जनाए। बदलिएको कांग्रेसले देश सम्हाल्ने नेतृत्व चाहिएको भन्दै उनले देश सम्हाल्ने शक्ति युवामा रहेको जिकिर गरे।

उनले देशलाई शासनमा र कार्यशैलीमा सुधार चाहिएको बताए। उनले सबै जना संविधानमा प्रतिबद्धता रहेकाले संविधानमा बदल्ने कुरा धेरै रहेको तर त्यसका लागि युवाहरूले साथ दिनुपर्ने बताए।

‘कांग्रेस नेपाल राज्यमा रहेको सबैको हो। झुपडीमा बसेका नागरिक र महलमा बसेका नागरिकको हो। अझ पिँधमा रहेको व्यक्तिको नजिकको पार्टी हो कांग्रेस। तर देश बनाउन सबैको जरुरी छ। पार्टीले भागबन्डा गर्न नपाओस्। अनि सुशासन आउँछ।’