काठमाडौ । शिक्षा पत्रकार समूहले शिक्षा पत्रकार शेषकान्त पण्डितको स्मृतिमा शिक्षा पत्रकारिता पुरस्कार स्थापना गर्ने घोषणा गरेको छ ।पण्डितको दोस्रो पुण्यतिथिका दिन शनिबार आयोजित श्रद्धाञ्जलीसभामा समूहकी अध्यक्ष निर्जला कक्षपतिले पुरस्कार स्थापना गर्ने घोषणा गरेकी हुन् ।
शिक्षा पत्रकारितामा पण्डितको योगदानलाई चिरस्थायी बनाउन पुरस्कार स्थापनाको घोषणा गर्नु प्रशंसनीय रहेको पूर्व अध्यक्ष प्रकाश सिलवालले प्रतिक्रिया दिए । समूहको संस्थागत विकास र सदस्यप्रतिको अपनत्व वृद्धिमा समेत यो सकारात्मक कदम भएको अर्का पूर्व अध्यक्ष सुदर्शन सिग्देलले बताएका छन् ।
पण्डितको २०८० माघ १७ गते क्यान्सर रोगका कारण ४७ वर्षको क्रियाशील उमेरमै निधन भएको थियोे । समूहका पूर्वमहासचिव उनी गोरखापत्र दैनिकका सहसम्पादक थिए ।
शिक्षा पत्रकार समूह शिक्षा बीटमा काम गर्ने पत्रकारहरुको समूह हो । २५ वर्ष पुरानो यो संस्थामा एक सय बढी शिक्षा पत्रकार आवद्ध छन् ।





