
काठमाडौ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले कक्षा ५, ८ र १० का सामाजिक विषयका पाठ्यपुस्तक परिमार्जनको काम सुरु भइसकेको जानकारी दिएका छन् । शिक्षा पत्रकार समूह र सेभ द चिल्ड्रेनले राजधानीमा आयोजना गरेको बालबालिका, पाठ्यक्रम र पाठ्यपुस्तकबीचको तादम्यता विषयक अन्तर्क्रियामा उनले परिमार्जित पुस्तकहरू २०८४ सालदेखि कार्यान्वयनमा ल्याइने बताए।

उनका अनुसार पाठ्यपुस्तक लेखनका क्रममा सरोकारवालासँग छलफल गरिनुका साथै लेखकहरूलाई अभिमुखीकरण गरिएको छ । विविधताभित्र एकता खोज्ने दृष्टिकोण अपनाइँदै आएको र पाठ्यपुस्तकमा राष्ट्रियताको भावना, नागरिकको भूमिका तथा असल समाज निर्माणका विषयलाई प्राथमिकता दिइने उनले स्पष्ट पारे ।
सो अवसरमा महानिर्देशक पौडेलले कतिपय क्षेत्रका विषय विज्ञसमेत पाउन कठिन रहेको खुलासा गर्दै सरोकारवालाको माग अनुसार पाठ्यक्रम र पाठ्यपुस्तकलाई परिमार्जन गर्दैजाने प्रतिवद्धता पनि प्रकट गरेका छन् ।

कार्यक्रममा शिक्षा पत्रकार समूहले हाल प्रयोगमा रहेका पाठ्यपुस्तकहरूको अध्ययन प्रतिवेदन प्रस्तुत गरेको थियो। डा होमराज आचार्यले प्रस्तुतिकरण गर्दै पाठ्यपुस्तकमा अपाङ्गता भएका व्यक्ति तथा यौनिक अल्पसंख्यक समुदायलाई कसरी सम्बोधन गरिएको छ र भाषाको प्रयोग कस्तो छ भन्ने विषयमा सूक्ष्म विश्लेषण गरेका थिए । बिभेदरहीत र बालबालिकामैत्री नरहेका विषयवस्तु सो अवसरमा औल्याइएको थियो ।

कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक हरि निरौलाले नेपाली समाज बहुलवादी भएकाले कक्षाकोठामै समाजको प्रतिनिधित्व हुने बताए। पाठ्यसामग्री दक्ष र विज्ञ व्यक्तिबाट विभिन्न चरण पार गर्दै निर्माण गरिने र हरेक पाठलाई समावेशी बनाउने प्रयास भइरहेको उनको भनाइ थियो।
सेभ द चिल्ड्रेनकी वरिष्ठ कार्यक्रम विकास तथा गुणस्तर सल्लाहकार डा. लक्ष्मी पौडेलले पाठ्यक्रम र पाठ्यपुस्तकबीच खाडल रहेको उल्लेख गर्दै कार्यान्वयन तहमा समेत समस्या देखिएको बताइन्। उनका अनुसार पाठ्यपुस्तकले विद्यालय र घरबीचको सम्बन्ध मजबुत बनाउन सकेको छैन। त्यस्ता कमजोरी पूरा गर्न परिपूरक पाठ्यसामग्री विकास गर्न सकिने धारणा उनले राखिन् । यसका लागि मार्गचित्र बनाएर अघि बढ्नुपर्ने उनले बताइन् ।

शिक्षाविद् प्राडा. विद्यानाथ कोइरालाले पाठ्यक्रम र पाठ्यपुस्तक दुवै परिवर्तन गर्न सकिने भएकाले पाठ्यपुस्तक निर्माणअघि समाजमा महत्वपूर्ण योगदान दिएका व्यक्तिहरूको सूची तयार गरी उनीहरूको योगदान प्रस्तुत गर्नपर्ने आवश्यकता औल्याए ।
विभेद धर्म, जात र लिङ्गका कारण भएको जस्तो देखिए पनि वर्ग नै विभेदको कारण भएको भन्दै उनले बहु-सांस्कृतिक नायकको पहिचान र सम्मान स्थापित गर्नुपर्ने बताए । विद्यार्थीलाई विभेदप्रति जानकार, सचेत र संवेदनशिल बनाउन सके विभेद रोक्न सकिने उनको सुझाव छ ।

कार्यक्रममा विद्यार्थी प्रतिनिधि बेबिसा मग्रान्तीले पाठ्यक्रममा जेनजी आन्दोलनको विषय थप गर्न र पाठ्यपुस्तकलाई रङ्गिन तथा गुणस्तरीय बनाउन माग गरिन् । कार्यक्रममा सहभागीहरुलाई विभ पाँच समूहमा बिभाजन गरेर सुझाव संकलन गरिएको थियो ।

पूर्व अध्यक्ष सुदर्शन सिग्देलले सञ्चालन गरेको कार्यक्रमको अन्त्यमा शिक्षा पत्रकार समूहकी अध्यक्ष निर्जला कक्षपतिले समूहगत छलफलबाट आएका सुझावहरू पाठ्यसामग्री निर्माणमा उपयोगी हुने विश्वास व्यक्त गरिन्।
सहभागीहरूको सुझाव समेटिएको प्रतिवेदन पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बुझाइने उनले बताएकी छन् ।








