
काठमाडौँ । शिक्षा क्षेत्रको समग्र सुधारका लागि राष्ट्रिय कूल बजेटको कम्तिमा २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने मागसहित शिक्षा पत्रकार समूहले सरकारलाई सुझाव दिएको छ। लामो समयदेखि संसदमा थाती रहेको विद्यालय शिक्षा विधेयकलाई आवश्यक परिमार्जनसहित आगामी बजेट अधिवेशनबाटै पारित गर्न पनि समूहले जोड दिएको छ।
समूहकी अध्यक्ष निर्जला कक्षपतिको नेतृत्वमा गएको टोलीले शुक्रबार सिंहदरबारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई सुझावपत्र बुझाउँदै शिक्षा सुधारलाई नीतिगत रूपमा अघि बढाउन ढिलाइ गर्न नहुने स्पष्ट पारेको हो।
पत्रकार समूहले करिब दुई दशकदेखि चर्चा भए पनि कार्यान्वयनमा आउन नसकेको विद्यालय नक्साङ्कन तत्काल सुरु गर्नुपर्ने आवश्यकता औँल्याएको छ। विद्यालयको भौगोलिक अवस्था, शिक्षक–विद्यार्थी अनुपात, भौतिक पूर्वाधार, सञ्चालन लागत, समुदायको अपनत्व तथा बालबालिकाको जन्मदरका आधारमा वैज्ञानिक नक्साङ्कन गर्नुपर्नेमा जोड दिइएको छ।
विद्यालय गाभ्ने (मर्जिङ) प्रक्रियाले साना बालबालिकाको पहुँचमा असर नपरोस् भन्नेमा पनि समूहले सचेत गराएको छ। विशेषगरी प्रारम्भिक बालविकासदेखि कक्षा ४ सम्मका विद्यार्थीलाई नजिकैको विद्यालयमा पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने माग गरिएको छ। साथै, प्रारम्भिक तहका शिक्षकको न्यूनतम योग्यता स्नातक हुनुपर्ने विषय पनि उठाइएको छ।
उच्च शिक्षातर्फ विश्वविद्यालयलाई ‘पेटेन्ट राइट्स हब’का रूपमा विकास गर्न, नयाँ प्रविधिसँग अद्यावधिक हुने प्रणाली स्थापना गर्न तथा इतिहास र भूगोलजस्ता विषयमा विद्यार्थी आकर्षण बढाउने कार्यक्रम ल्याउन सुझाव दिइएको छ।
२०६५ सालमा तयार गरिएको ‘शिक्षाको सञ्चार रणनीति’ कार्यान्वयनविहीन बनेको भन्दै त्यसलाई समयानुकूल परिमार्जन गरी लागू गर्न पनि समूहले माग गरेको छ। शिक्षा प्रणालीलाई उत्पादन र रोजगारीसँग जोड्दै ‘ब्रेन ड्रेन’ रोक्ने दीर्घकालीन रणनीति आवश्यक रहेको निष्कर्ष पनि प्रस्तुत गरिएको छ।
सुझावपत्र बुझ्दै मन्त्री सस्मित पोखरेलले प्राप्त सुझावहरू गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयनतर्फ अघि बढ्ने प्रतिबद्धता जनाए। उनले शिक्षा सुधारमा सञ्चार क्षेत्रको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै रचनात्मक आलोचनालाई सरकार सधैं स्वागत गर्ने बताए।
“सरकार कहिलेकाहीँ बाटो बिराउन सक्छ, त्यस्तो बेला सच्याउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ,” मन्त्री पोखरेलले भने, “हामी सुधारका लागि सधैं तयार छौं।”
सो अवसरमा शिक्षा पत्रकार समूहका वरिष्ठ उपाध्यक्ष एवं मध्याह्न दैनिकका सम्पादक जनक नेपाल, उपाध्यक्ष एवं news24 दैनिकका सम्पादक नवराज चालिसे, सचिव एवं नेपाल खबरकी प्रज्ञा तिमल्सिना, कार्यसमिति सदस्य ननस्टप खबरका सम्पादक संजीप घिमिरे, नेपाल टेलिभिजनकर्मी अन्जिर सिंह बिक त्यसैगरी पूर्व अध्यक्षहरू सुदर्शन सिग्देल, प्रकाश सिलवाल र तुला अधिकारीको उपस्थिति रहेको महासचिव रोशन गाउँलेले जानकारी गराए।







