काठमाडौं । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल नर्सिङ परिषद् (Nepal Nursing Council) को सदस्य पदमा शिक्षा पत्रकार निर्जला कक्षपतीलाई नियुक्त गरेको छ ।
अन्तरिम सरकारकी स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमस्तरीय निर्णयबाट शुक्रबार कक्षपतीलाई परिषद्को सदस्यमा नियुक्त गरिएको हो । उनलाई नेपाल नर्सिङ परिषद् ऐन २०५२ को दफा ५ उपदफा १ मा भएको ब्यवस्था अनुसार नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।
पत्रकारितामा स्नातकोत्तर कक्षपती हाल शिक्षा पत्रकार समूहकी अध्यक्ष समेत हुन् । उनले भारत, फिलिपिन्स, नेदरल्यान्ड लगायत विभिन्न देशबाट पनि पत्रकारिताको डिग्री लिएकी छन् ।
दुई दशकभन्दा बढी समय पत्रकारितामा सक्रिय कक्षपतीले रेडियो सगरमाथा, इमेज टेलिभिजन तथा एफएममार्फत शिक्षा, स्वास्थ्य, महिला र बालबालिकाका क्षेत्रमा विद्यमान समस्या उजागर गर्दै समाधानका लागि निरन्तर पहल गर्दै आएकी थिइन् ।
नियुक्तिपश्चात आइतबार नेपाल नर्सिङ परिषद्की रजिष्टार शुक्ला खनालले परिषद्को कार्यालयमा कक्षपतीलाई स्वागत गरेकी छन् ।
सो अवसरमा कक्षपतीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई आपसमा जोड्दै नर्सिङ पेशाको गुणस्तर अभिवृद्धि तथा समग्र विकासमा थप योगदान गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।





