चप्पलबाट स्याटेलाइटसम्म : चेपाङ विद्यार्थीले बनाए पहिलो स्वदेशी स्याटेलाइट

काठमाडौँ । आर्थिक रूपमा पछाडि पारिएको अल्पसंख्यक समुदायबाट आएका चेपाङ विद्यार्थीहरूको संलग्नतामा नेपालमै डिजाइन तथा निर्माण गरिएको पहिलो स्वदेशी स्याटेलाइट बुधबार सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरिएकाे छ।

‘स्लिपर्स टु स्याट’ नाम दिइएको यस प्रेरणादायी मिसनअन्तर्गत निर्माण गरिएको क्युब–स्याटेलाइट चीनको इनर मंगोलियास्थित चिउक्वान स्याटेलाइट लन्च सेन्टरबाट बिहानीपख पौने १० बजे काइनेटिका–वान रकेटमार्फत प्रक्षेपण भएको हो ।

स्रोतसाधन अभाव हुने चितवनस्थित सामुदायिक विद्यालयमा अध्ययनरत अल्पसंख्यक चेपाङ समुदायका ७ र ८ कक्षाका ९ बालबालिका स्याटेलाइट निर्माणमा प्रत्यक्ष संलग्न रहेका थिए । यसलाई विशेष उपलब्धिको रूपमा हेरिएकाे छ ।

“एक जोडी चप्पल किन्न पनि गाह्रो पर्ने समुदायबाट अन्तरिक्षसम्मको यात्रा” भन्ने भावनात्मक र शक्ति–प्रदर्शक थिम बोकेको ‘स्लिपर्स टु स्याट’ नेपालका सामुदायिक प्रतिभालाई विश्वसामु उजागर गर्ने एउटा ऐतिहासिक उपलब्धि बनेको छ ।

अन्तरिक्ष प्रतिष्ठान नेपालको पहलमा तयार गरिएको यो स्याटेलाइटको ‘उपग्रह बस’ प्रणाली पूर्णरूपमा स्वदेशमै डिजाइन गरिएको हो । विद्युत् शक्ति प्रणाली (EPS), अन–बोर्ड कम्प्युटर (OBC) तथा सञ्चार प्रणालीलाई एउटै PCB मा समायोजन गरेर तयार गरिएको यो संरचना Nepali-SAT-1 र Munal उपग्रहहरूको प्रविधि आधारमा झनै उन्नत रूपमा विकसित गरिएको छ ।

यसको कम्प्याक्ट तर प्रभावकारी डिजाइनले उपग्रहभित्र अन्य वैज्ञानिक उद्देश्यका उपकरणहरू राख्न थप ठाउँ उपलब्ध गराएको छ ।

यसको मुख्य उद्देश्य प्राकृतिक विपत्तिसम्बन्धी महत्वपूर्ण तथ्यांक प्रसारण गरेर विपद् व्यवस्थापन तथा अनुसन्धानमा सहयोग पुर्‍याउनु रहेकाे स्याटेलाइट मिसनका म्यानेजर इन्जिनियर रिषभ अधिकारीले बताए ।

यो सफल प्रक्षेपणले नेपालको अन्तरिक्ष प्रविधि क्षमतामा नयाँ ढोका खोल्नुका साथै चेपाङ समुदायका बालबालिकाको प्रतिभा र क्षमताले अन्तरिक्षमा समेत छोइदिन सक्ने सन्देश विश्वभर पुर्‍याएको छ ।

‘स्लिपर्स टु स्याट’ असम्भवलाई सम्भव बनाउने नेपाली प्रेरणाको चम्किलो उदाहरण बनेकाे नास्टले जनाएकाे छ ।