गोरखा । गोरखाको धार्चे गाउँपालिका–२ रुन्चेतको गण्डकी माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीलाई भब्य बिदाई गरिएको छ । विद्यार्थी, पूर्वविद्यार्थी र अभिभावकहरूको सहयोगमा विद्यालयले उनलाई हेलिकप्टर चार्टर गरी ऐतिहासिक सम्मानसहित विदाई गरेको हो ।
३७ वर्षको अविरल सेवा समर्पणपछि हालै मात्र अवकाश प्राप्त गरेका उपरकोटीको शिक्षण पेशाप्रतिको निष्ठा, कर्तब्यपरायणता र प्रेरणादायी भूमिकाप्रति कृतज्ञता व्यक्त गर्न स्थानीयहरूले सामूहिक रूपमा अद्वितीय विदाई कार्यक्रमको आयोजना गरेका थिए।
बिदाईका लागि विशेषरुपले चार्टर गरिएको हेलिकप्टरमार्फत उपरकोटीको बिदाई हेर्न स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । विद्यार्थी, अभिभावक र विद्यालयका प्रतिनिधि उनलाई चितवनस्थित घरसम्म पु¥याउन पुगेका विद्यालयले बताएको छ ।
विद्यार्थी, अभिभावक र स्थानीयहरूले औधी रुचाउने उपरकोटी सेवा निबृत्त भई बिदाई हुँदा सबैका आँखा रसाएका थिए । आफ्नो सम्पूर्ण उर्जा सो क्षेत्रको शिक्षा विकासमा समर्पण गरेका शिक्षक उपरकोटी सर्वप्रिय ब्यक्तित्व रहेका बिदाई समारोहमा सहभागीहरुले बताए ।
धार्चेको माया मनभरी लिएर आफू सेवानिबृत्त भएको र सदैव आफ्ना विद्यार्थीको उन्नतिको कामना गरिरहने प्रधानाध्यापक उपरकोटीले बताएका छन् ।
शिक्षकको बिदाईमा हेलिकप्टर चार्टर गरिनु दुर्लभ दृश्य देखिएको नेपाल प्रधानाध्यापक संघका अध्यक्ष सुदामप्रसाद गौतम बताउँछन् । यसले समाजमा समर्पित शिक्षकको योगदान कति गहिरो रूपमा अनुभव गरिन्छ भन्ने सन्देश दिएको र सबै शिक्षकका लागि यो प्रेरणा भएको उनले प्रतिक्रिया दिए ।







