काठमाडौ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशक पदमा नियुक्त भएका लक्ष्मण पन्थीले कार्यभार सम्हालेका छन् । मंगलबार नारायणहिटीस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन् ।
खुला प्रतिस्पर्धाबाट एक दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै अर्घाखाँचीका पन्थी कार्यकारी निर्देशक नियुक्त भएका थिए । उनलाई मन्त्रीपरिषदले नियुक्त गर्ने निर्णय गरेको थियो ।
सांस्कृतिक, धार्मिक र वैदिक परम्पराका बिज्ञ पन्थीले ज्योतिष शाष्त्रमा आचार्य उपाधी पाएका छन् । उनी नेपाल संस्कृत विश्वविद्यालयका पिएचडी स्कलर्स पनि हुन् ।
यस अघि समितिको सदस्य रही काम गरेका पन्थीसंग पञ्चाङ्गसम्बन्धी विभिन्न संघसंस्थामा आवद्ध रही काम गरेको अनुभव समेत रहेको छ ।
पदभार ग्रहण गर्दै पन्थीले संस्कृति, परम्परा र रीतिरिवाजहरुको संरक्षण र पालनालाई अर्जुन दृष्टि बनाइ काम गर्ने बताएका छन् ।
यस अघि समितिको कार्यकारी निर्देशकको जिम्मेवारीमा ज्योतिष पण्डित सूर्यप्रसाद ढुङ्गेल रहेका थिए ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति ज्योतिष तथा पञ्चाङ्ग (क्यालेण्डर / पात्रो) सम्बन्धी निर्णय, प्रकाशन तथा नियमन गर्ने एकमात्र सरकारी निकाय हो ।

