२ मिनेटमै चमत्कारिक उद्धार: सशस्त्र प्रहरीद्वारा अद्भुत क्षमता प्रदर्शन

गोरखा । शहीद लखन गाउँपालिका–४ राईनासको भीरबाट करिब ५० मिटर तल त्रिशूली नदीमा खसेका ५१ वर्षीय दीपक तिवारीलाई सशस्त्र प्रहरीले अविश्वसनीय गतिमा उद्धार गरेको छ । मात्र दुई मिनेटमै उद्धार गरी सशस्त्रले उनको जीवन बचाएको हो ।

तिवारीलाई उपचारपछि सुरक्षित रूपमा घर पुर्याइएको छ ।

के भएको थियो ?

बुधबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारले ‘वाटर रेस्क्यू’को व्यावहारिक अभ्यास गराइरहेका बेला तिवारी नदीमा खसेको आवाज सुनिएको थियो ।

भीरको बाटो हिड्दै गरेका मानिस खसेको भन्ने सुन्ने बित्तिकै प्रशिक्षक समेत रहेका प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको कमाण्डमा खटिएको गोताखोर टोली तत्कालै नदीमा हाम्फालेको थियो ।

अत्यन्त गहिरो बहाव, उग्र लहर र चिसो पानीबीच जोखिमपूर्ण संघर्ष गर्दै तामाङको कमाण्डमा रहेको टोलीले तिवारीलाई बेहोस अवस्थामा सुरक्षित रूपमा नदीबाट बाहिर निकाल्न सफल भयो ।

उद्धारपछि तुरुन्तै प्राथमिक उपचार गरी सशस्त्र प्रहरी बल नेपालले ट्रमा सेन्टर, कुरिनटारमा पुर्‍याइएका तिवारीलाई आवश्यक उपचारपछि  आजै साँझ डिस्चार्ज समेत गरिएको छ।

उनलाई ४३ टाँका लगाउनुपरे पनि भित्री गहिरो चोट नभएकोले खतरा मुक्त भनी सम्बन्धित चिकित्सकले डिस्चार्ज लेखिदिएको अस्पतालले जनाएको छ ।

चमत्कार’ जस्तै उद्धार

स्थानीय र उद्धारकर्ताहरूका अनुसार यो उद्धार चमत्कारभन्दा कम थिएन।

त्रिशूलीजस्तो तीव्र बग्ने नदीमा दुई मिनेटमै उद्धार सम्भव हुनु सशस्त्र प्रहरीको दक्षता, तालिम र तत्परताको अद्वितीय उदाहरण बनेको छ।

आजको अभ्यास ‘रेस्क्यू ड्रिल’ मात्र थियो, तर वास्तविक संकटमा बदलिएपछि सशस्त्र प्रहरीले देखाएको सक्रियता भने साँच्चिकै प्रेरक र ऐतिहासिक बन्न पुग्यो । प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको नेतृत्वमा रहेको टोलि र सशस्त्र प्रहरी बलको सफलताले एउटा नयाँ जीवनको कथा कोरिएको छ ।