श्रीमतीलाई सुराकी बनाएर लाखौ झ्वाम पार्ने सशस्त्रका डिएसपीको यस्तो काइदा

कनिस्ट अधिकारीहरु डिएसपी शाहीमाथि किन हातपात नै गर्ने अवस्थामा पुगे ?

वुटवल । सशस्त्र प्रहरीका एक डिएसपीले आफ्नै श्रीमतीलाइ सुराकी राखेर ठूलाे रकम कुम्लाउने गरेकाे खुलासा भएकाे छ । सीमा सुरक्षाका लागि खटाइएकाे सशस्त्र प्रहरीका जिम्मेवार अफिसरले यसरी उक्त क्षेत्रमा हुँदै नभएकी श्रीमतीलाइ सुराकी राखेर आफ्नाे टिमले गरेकाे काममा कमिसन आफै कुम्ल्याउने गरेपछि सशस्त्रभित्रै खैलावैला भएकाे छ । अझ त सुराकीकाे कमिसन रकमका विषयमा सीमा सुरक्षामा खटिने सुरक्षाकर्मीका कमाण्डरहरुबीच आपसमा हातहालाहाल नै हुन थालेकाे पनि थाहा भएकाे छ । 

यसरी नक्कली सुराकी खडा गरेर गाेजी गरम पार्ने अधिकारी हुन सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक (डिएसपी) मानबहादुर शाही । रुपन्देही जिल्लाकाे भैरहवा नाकामा उनले यसखालकाे कार्य गरेका हुन् । डिएसपी शाहीले आफ्नै श्रीमतीको नाम सुराकीमा राखी दुई लाख सत्तरी हजार (रु २,७०,०००) रकम एक पटकमा बुझेकाे प्रमाण फेला परेकाे छ । यसबाट उनले अरु समयमा के कति यसैगरी पैसा लिए भन्ने प्रश्न पनि सँगै उठेकाे छ । 

शाही सशस्त्र प्रहरी बलको तत्कालीन ३८ नंं गुल्म डन्डा ९ (सुनौली नाका) का प्रमुख थिए । उक्त गुल्मका तत्कालीन प्रमुख शाहीले गुल्मअन्तर्गतकाे टाेलीले ठुलो रकमको अवैध समान पक्राउ गरेका बेला उक्त सामानका बारेमा सुराकी दिएकाे भन्दै सुराकीमा आफ्नै पत्नीलाई बनाएका थिए । त्यसरी सुराकीमा नाम राखिएपछि उक्त सामानकाे सुराकी दिने व्यक्तिलाइ दिइने कमिसन रकम उनले झ्वाम पारेका हुन् । उसाे त उनले श्रीमतीलाइ सुराकी राखेर त्यसवापत पैसा त लिए नै आफैले पनि वैधानिक रुपमा पाउने कमिसन पनि लिएका छन् । यही एउटै घटनामा डिएसपी शाहीले पनि रु. २२५०० हजार लिएकाे प्रमाण ननस्टप खबरले फेला पारेकाे छ । डिएसपी शाहीले मात्र नभइ त्यतिबेला त्यहाँ कार्यरत २ जना सशस्त्र प्रहरी इन्स्पेक्टरसहित २४ जना सशस्त्र प्रहरीका अधिकृत तथा जवानलाइ भन्सार कार्यालयले पुरस्कार भन्दै कमिसन दिएकाे छ । सबैलाइ पुरस्कार भन्दै ३०/३० हजार दिइएकाेमा आयकर वापत ७५०० कटाएर २२५०० दिइएकाे छ । उनीहरु सबैले प्रतिवेदकका रुपमा साे रकम पाएका हुन् । (हेर्नुहाेस लिस्ट)

हेर्नुहाेस सुराकी वापत भन्सारबाट पैसा बुझेकाे लिस्ट

याे घटना गत साल पुसकाे हाे । त्यतिबेला सशस्त्रकाे डन्डामा रहेकाे गुल्मकाे टाेलीले ठूलाे मात्रामा अवैध रुपमा नेपाल भित्र्याइएका खसी बोका पक्राउ गरेकाे थियाे । रुपन्देहीको खैरेनीबाट २०७६ पुस १ गते सशस्त्रकाे टाेलीले ६ सय ७८ वटा खसीबोका बरामद गरेको थियो । यति ठूलाे संख्यामा खसीबाेका पक्राउ गर्दा फिल्डमा भने प्रहरी निरिक्षक विजय थापाकाे कमाण्डमा एक टाेली थियाे । ती खसीबोका कपिलवस्तुको विजयनगर गाउँपालिकाको सीमा हुँदै नेपाल भित्र्याइएको खुलेकाे थियोे । सशस्त्र प्रहरीको प्रदेश नं. ५ मुख्यालय चन्द्रौटा क्षेत्र हुँदै तस्करले ट्रकमा ढुवानी गरी भित्र्याइएका ती खसीबोका काठमाडौँ लैजान लागेका थिए । पछि बरामद भएका खसीबोकालाई वेलहिया भन्सार कार्यालयले लिलाम गरेको थियो ।

शाहीले त्यतिबेला पत्नी अम्बिका कुमारी चन्दको नाम सुराकीमा राखे । सशस्त्र प्रहरी स्राेतकै अनुसार डिएसपी शाहीकी पत्नी चन्द भने काठमाण्डौमा बसोबास गर्दछिन् । तर, शाहीले भने एउटा मात्र हाेइन धेरैजसाे अवैध सामानहरु बरामद हुँदा त्यस्ताे सामान पक्राउ गराउन सुराकी दिने व्यक्तिकाे नाम आफ्नै श्रीमतीकाे नाम राख्ने गरेकाे देखिन्छ । ननस्टपखबरलाइ उनले २ पटक नै श्रीमतीको नाम राखेर एउटै घटनामा २ लाख ७० हजार कुम्ल्याएकाे प्रमाण फेला परेकाे छ । डिएसपी शाहीले सुराकीमा पत्नीको नाम राखी लिलाम भएको रकमको ३०% रकम असुल गरेकाे खुलेको छ ।

बेलहिया भन्सार कार्यालयमा कार्यरत एक कर्मचारी सुरक्षा निकायकाे प्रमुख जस्ताे व्यक्तिले यसरी कमिसन कुम्ल्याउनु भन्सार एेन र नियावली विपरीत हुने बताउँछन् । बेलहिया भन्सार प्रमुख कमलराज भट्टराई भने यस विषयमा कुरा गर्न त्यति रुचाउँदैनन् । उनी याे विषयमा आफूलाइ थाहा नै नभएकाे बताउँछन् । याे विषयमा तलका कर्मचारीहरुलाई थाहा हुने उनले बताए । 

यता सशस्त्र प्रहरी बल केन्द्रीय कार्यलयका प्रवक्ता राजु अर्यालले यस विषयमा आफूले बुझ्ने बताए । साथै उनले यसबारे त्यहीकाे भन्सार कार्यालयले पनि बुझ्नुपर्ने बताए । 

यता अख्तियार दुरुपयोग अनुसन्धान आयाेगकाे बुटवल कार्यलय प्रमुख भीष्म कुमार भुसाल भने यस्ताे भएकाे पाइएमा कारवाही हुने बताउँछन् । उनले भने, “अब यस विषयमा अहिलेसम्म कसैबाट उजुरी आएकाे छैन् । यदि उजुरी आयाे भने हामीले कार्वाही गर्छाैं चाहे त्यो पुरानो हाेस् वा नयाँ हामीले सरकारी सम्पत्तिकाे दुरुपयोग जाेसुकैले गराेस् हामीले कसैलाई छाेड्दैनाैं ।”

यही विषयमा तत्कालीन बेलहिया गणभित्र धेरै कुरा पनि उठेकाे थियाे । कुरा बढ्दै जाँदा हातहालाहालसम्म हुन खाेजेकाे पनि बताइन्छ । तत्कालीन ईन्स्पेक्टर विजय थापा भन्छन्, “बेलहियामा डिएसपी सापकाे कमान्डमा पहिला गण थियो । त्याे बिषय र गण भित्रकाे रासनपानीकाे विषयमा यहाँ कुरा चलेकै हाे । अहिले गण हटाएर यहाँ बिअाेपी बनाइएकाे छ । त्यतिबेलाका अफिसरहरु अहिले हेडक्वार्टरमा सरुवा हुनु भएको छ ।”

स्राेतका अनुसार डिएसपी शाहीले ठूला ठूला चोरी पैठारीमा समेत आफ्नी पत्नीको नाम सुराकीमा राखेर कमिसन खाने गर्दथे । गुल्मले गतसाल कार्तिक २६ गते, कार्तिक २९ गते, मंसिर २२ गते र पुस १८ गते ठूलो परिमाणमा अवैध सामान बरामद गरेको थियो । स्राेतका अनुसार त्यतिबेला चलाइएका मुद्दा नं. १९४, १९७, ६३२, ६३९ मा समेत नक्कली सुराकी राखिएको बताइएको छ ।

भन्सार छलीमा पक्राउ गरेको केसमा सुराकीको नाम गोप्य हुने र सार्वजनिक गर्न नमिल्ने भएकोले नक्कली सुराकी खडा गर्न सजिलो बनेकाे बताइन्छ । भन्सार एेनकाे “परिच्छेद १० सुराकी र पुरस्कार सम्बन्धि व्यवस्थाकाे ४७ पुरस्कार सम्बन्धि व्यवस्था १) काे क, ख, ग काे भित्र नपर्ने हुँदाहुँदै पनि भन्सारबाट उक्त पुरस्कार दिईएकाे देखिन्छ ।

अवैध सामाग्री पक्राउ पछि लिलाम भएको मूल्यको ३०% रकम सुराकीको नाममा पुरस्कार जाने गर्दछ । त्यसैले अधिकांश भन्सार नाकाहरुमा यस्ता क्रियाकलाप हुने स्राेतकाे दावी छ । 

त्यतिबेला डिएसपी शाहीले एक्लै रकम कुम्ल्याउन लागेपछि गुल्ममा आपसमा हात हालाहाल सम्म भएको थियाे । त्यसपछि फेरि दाेस्राेपटक गत वैशाख ८ गते पनि यही विषयलाई लिएर हात हालाहाल समेत भएको थियो ।

त्यतिबेला गुल्ममा कार्यरत डिसएपी शाही र इन्स्पेक्टरहरु दयाराम शर्मा र केशव भट्टराईबीच हात हालाहाल भएको हाे । यसरी पटक पटक विवाद भएपछि बेलहिया गणका तत्कालीन प्रमुख शाही २०७६ पुसमा त्यहाँ पाेस्टिङ भएका थिए । सशस्त्र प्रहरी प्रधान कार्यालयबाट सरुवा भई बेलहिया गएका उनले त्यहाँ भ्रष्टाचारको अखडा बनाउन थालेपछि गण नै खारेज गरिएकाे बताइन्छ । उनलाई यही २०७७ असारमा सशस्त्र प्रहरी बल प्रधान कार्यलय काठमाडौं तानिएको छ । स्राेतका अनुसार उनी अरु व्यापारमा पनि सम्लग्न हुँदै आएका छन् । विश्वस्त स्राेतका अनुसार सशस्त्र प्रहरीका उपल्लाे तहकै अधिकारीले अहिले रुपन्देहीमा तारे हाेटल खाेल्ने तयारी पनि गरेका छन् । भैरहवा नाका र बुटवलका बीचमा बहालवाला अधिकारीले नै तारे हाेटल खाेल्ने तयारी थाहा पाएपछि त्यही भित्रकै कतिपय अधिकारीहरु चकित परेका छन् । डिएसपी शाहीका बारेमा सशस्त्र भित्रैबाट धेरै गुनासाहरु गरिए पनि उनीमाथि केही नभएकाे बताइन्छ । कनिस्ट अधिकारीहरु उनका विरुद्ध हातपात गर्ने अवस्थासम्मै किन पुगे र यस्ताे हुँदा पनि उनीमाथि कुनै कारवाही किन हुँदैन भन्ने प्रश्न पनि अहिले सशस्त्र प्रहरीवृतमा चल्ने गरेकाे छ । 

भन्सार ऐन, २०६४
Loading...