ललितपुरमा बुद्धिचाल प्रतियोगिता

महालक्ष्मी नगरपालिका वडा नं ९ को आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत सामाजिक कार्यक्रमअनुसार तेस्रो वडा अध्यक्ष कप बुद्धिचाल प्रतियोगिता शुक्रबार लामाटारमा सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरि गोविन्द श्रेष्ठले गरेका छन्।

वडा अध्यक्ष जयकृष्ण बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी महर्जन, बागमती प्रदेशका पूर्व प्रदेशसभा सदस्य माधव पौडेल, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख चिरञ्जीवी पौडेल, निवर्तमान वडा अध्यक्ष वासुदेव शर्मा, कानुनी सल्लाहकार दामोदर न्यौपाने तथा नेपाल बुद्धिचाल महासंघका कार्यवाहक अध्यक्ष दिपेन्द्र राईलगायतले शुभकामना व्यक्त गरे।

प्रमुख अतिथि नगर प्रमुख हरि गोविन्द श्रेष्ठले मन्तव्यका क्रममा नगरपालिकाले बुद्धिचाल खेलको प्रवर्द्धनका लागि नीतिगत निर्णय गर्ने प्रतिबद्धता जनाए।

वडा सदस्य शशिधर पोखरेलले सञ्चालन गरेको कार्यक्रममा कार्यपालिका सदस्य सरिता पोखरेलले स्वागत मन्तव्य राखेकी थिइन्।

कार्यक्रममा नगर बुद्धिचाल संघका अध्यक्ष महेन्द्र देव सिंह, कार्यपालिका सदस्य कुमार वयलकाटी, वडा सदस्य राम केशर थापा र बेनी सुर्खेती, कानुनी सल्लाहकार, विभिन्न राजनीतिक दल, सहकारी तथा संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

 प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता रहेको छ, जसमा मित्रराष्ट्र भारतबाट १३ जना खेलाडी सहभागी छन्। प्रतियोगितामा दृष्टिविहीन खेलाडीको पनि सहभागिता रहेको छ। आज शनिबार अन्तिम प्रतिस्पर्धा र बिजयी खेलाडीलाई पुरस्कार बितरण कार्यक्रम गरिने बताइएको छ ।