पद्मकन्या स्ववियुमा गुटको छाया, गगन थापा निकट ऐरको बिद्रोही प्यानल बिजयी

काठमाडौ । राजधानीको पुरानो एवं महिला मात्र पढ्ने चर्चित क्याम्पस पद्मकन्या क्याम्पसमा बिहीबार सम्पन्न स्वबियु निर्वाचनबाट स्वतन्त्र उम्मेदवार रहेकी भुपेश्वरी (भुपी) ऐर नेतृत्वको पूरै प्यानल निर्वाचित भएको छ ।

नेविसंघबाट बिद्रोह गरी सभापतिमा स्वतन्त्र उम्मेदवारी दिएकी ऐरले नेविसंघकै आधिकारिक उम्मेदवार पुर्णिमाया परियारलाई पराजित गरेकी हुन् ।

ऐरले ७ सय ३० मत प्राप्त गर्दा परियारले ३ सय ७९ मत मात्र ल्याइन् ।
सचिवमा ऐर प्यानलकै सन्ध्या बस्याल र कोषाध्यक्षमा संकल्पिका थापा निर्वाचित भएका छन् ।

निर्वाचनमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले गठबन्धन गरेपनि प्रतिस्पर्धामा आएनन् । उनीहरुका उम्मेदवार तेस्रो स्थानमा रहे । त्यस्तै यहाँ अनेरास्ववियु समाजवादी र अखिक क्रान्तिकारी बिप्लव समूहको बेग्लै गठबन्धन र उम्मेदवारी परेको थियो ।

पद्मकन्यामा ५ गते स्थगित मतदान बिहीबार सम्पन्न भएको थियो । निर्वाचनमा निर्णायक प्रतिस्पर्धा भने नेविसंघबीचमै रह्यो ।

नेविसंघबाट बिद्रोह गरी बिजेता बनेकी ऐर नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षकी हुन् भने परियार सभापति देउवा निकट भएकी नेविसंघका एक नेताले बताएका छन् ।