भक्तपुरको मध्यपुर थिमि नगरपालिका वातावरण, संस्कृति र पर्यटनतर्फ देशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ ।
नेपाल नगरपालिका संघको ३२ औं स्थापना दिवसको अवसरमा सो घोषणा गरिएको हो । सो अवसरमा बिहीबार राजधानीमा आयोजित बिशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नगर प्रमुख सुरेन्द्र श्रेष्ठलाई सम्मान पत्र प्रदान गरे ।
मध्यपुर थिमि नगरपालिकालाई नगरपालिका संघले आर्थिक वर्ष २०८०/०८१ को लागि वातावरण, संस्कृति र पर्यटनतर्फ देशकै उत्कृष्ट नगरपालिका घोषित गर्दै सम्मान समेत गरेको उप प्रमुख बिजय कृष्ण श्रेष्ठले जानकारी गराए । मध्यपुर थिमिले ८ अंक प्राप्त गरेर उत्कृष्ट नगरपालिका बन्न सफल भएको उनले बताए ।
‘हाम्रो कला हाम्रो संस्कृती, मध्यपुर थिमि हाम्रो सम्पत्ति’ भन्ने मूलमन्त्र लिएर अघि बढेको मध्यपुर थिमि नगरपालिकालाई संघको सम्मानले यस क्षेत्रमा थप उत्कृष्टता हासिल गर्न प्रेरणा मिलेको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताएका छन् ।
मौलिक कला संस्कृती र सम्पदा, वातावरणमैत्री स्थानीय शासन, जलवायु उत्थानशील योजना, जलाधार क्षेत्र, जैविक पोखरीहरुको संरक्षण, फोहोर मैला र ढलको उचित व्यवस्थापन, ढल रहित मनोहरा करिडोर निर्माणलाई उत्कृष्टताको आधार मानिएको छ ।
त्यस्तै, सडकको सौन्दर्यकरण, खानेपानी तथा सरसफाई सेवामा प्रविधिको प्रयोग, वोटानिकल बगैंचा, हरियाली उद्यान, पर्यटन क्षेत्र बिस्तार र प्रवद्र्धन, सरसफाई गुरुयोजना निर्माण तथा कार्यान्वयन, मठमन्दीर, इनार ढुंगेधारा, पाटी पौवा जस्ता साँस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण, नगरको मौलिकता र सौन्दर्यताको सम्वद्र्धन जस्ता पक्षमा मध्यपुर थिमि नगरपालिकाले उपलब्धि हासिल गरिरहेको संघको मूल्यांकनमा उल्लेख छ ।
हालसम्म बनेको योजना, गरेको अभ्यास र देखिएका परिणामले मध्यपुर थिमि एउटा पूर्ण वातावरण मैत्री सफा र हराभरा साँस्कृतिक नगरको रुपमा विकास भइरहेको आभास गर्न सकिने संघले जनाएको छ ।
सो अवसरमा शहरी योजना तथा पूर्वाधार विकासमा सिद्धार्थनगर नगरपालिका र सामाजिक विकासतर्फ बाराको कलैया उपमहानगरपालिका देशकै उत्कृष्ट हुँदै समानित भएका छन् ।
त्यसैगरी संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनमा बर्दीयाको ठाकुरबाबा नगरपालिका, स्थानीय आर्थिक विकासमा नवलपरासीको गैडाकोट नगरपालिका र कैलालीको घोडाघोडी नगरपालिका देशकै उत्कृष्ट नगरपालिका घोषित भएका छन ।
उत्कृष्ट सबै नगरपालिकालाई प्रधानमन्त्री ओलीले सम्मान पत्र प्रदान गरे ।
संघले नगरपालिकाहरुको मूल्यांकनका लागि एक सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले विभिन्न मापदण्डहरुलाई सुक्ष्म ढंगले मूल्यांकन गरी सिफारिस गरेको आधारमा उत्कृष्ट नगरपालिका घोषणा गरिएको बताइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पु¥याएको भन्दै सन्तोष व्यक्त गरेका छन् ।
उनले नेपाली जनताको लामो संघर्ष र वलिदानस्वरुप मुलुकका राजतन्त्रको अन्त्यसँगै बलियो स्थानीय सरकार बनेकाले यो संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले राजतन्त्रकालमा लादिएका निरकुङ्शतालाई बिर्सनु नहुने बताउँदै गणतन्त्रको सुदृढीकरणमा सबै एकजुट भएर लाग्नुपर्ने बताए । देश बिकासमा तीनै तहका सरकारबीच आवश्यक सहकार्य र समन्वयमा पनि उनले जोड दिएका छन् ।