भक्तपुर। मध्यपुर थिमि नगरपालिकाले स्थानीय सरकारमार्फत भूमि प्रशासन सेवा सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको छ।
सेवा सञ्चालनका लागि आवश्यक कानुनी, प्राविधिक तथा प्रशासनिक तयारीलाई व्यवस्थित बनाउने नगरपालिकाले पहल थालेको हो ।
स्थानीय तहबाट पहिलो पटक भूमि प्रशासन सेवा सञ्चालन गरेको कागेश्वरी मनोहरा नगरपालिकाको शुक्रबार अध्ययन भ्रमण गर्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे तथा अमिनसहितको टोलीले मध्यपुर थिमिमा सो सेवा सञ्चालनको तयारी अघि बढाएका प्रमुखका स्वकीय सचिव पवन सिबन्जा श्रेष्ठले बताए ।
अध्ययन भ्रमणका क्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की तथा सम्बन्धित कर्मचारीसँग भूमि प्रशासन सेवा सञ्चालनसम्बन्धी कानुनी व्यवस्था, कार्यप्रक्रिया, प्राविधिक प्रणाली, सेवा प्रवाहको अभ्यास तथा कार्यान्वयनका क्रममा प्राप्त अनुभवबारे विस्तृत छलफल भएको थियो।
टोलीले सेवा सञ्चालनका प्रभावकारी अभ्यास, देखिएका चुनौती तथा समाधानका उपायबारे जानकारी लिँदै मध्यपुर थिमीमा सेवा विस्तारका लागि आवश्यक अनुभव संकलन गरेको जनाएको छ।
नगर प्रमुख सुरेन्द्र श्रेष्ठले स्थानीय सरकारबाटै भूमि प्रशासन सेवा उपलब्ध गराउने विषय नगरपालिकाको प्राथमिकतामा रहेको बताए। अध्ययन भ्रमणबाट प्राप्त अनुभवले सेवा सञ्चालनलाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउन सहयोग पुग्ने उनको भनाइ छ । स्थानीय तहबाटै जग्गासम्बन्धी सेवा उपलब्ध हुँदा नागरिकको समय र खर्च दुवै बच्ने उनको भनाइ थियो।
नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले नागरिकलाई छिटो, सहज, पारदर्शी र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले अन्य स्थानीय तहका सफल अभ्यासलाई आत्मसात् गर्दै आवश्यक तयारी अघि बढाइएको बताए। भूमि प्रशासन सेवा स्थानीय सरकारबाट सञ्चालन हुँदा सेवाप्रवाह थप प्रभावकारी हुने उनले भने।
नगरपालिकाका सूचना अधिकारी केशव सिलवालले भूमि प्रशासन सेवा सञ्चालनका लागि आवश्यक प्रशासनिक, प्राविधिक तथा संस्थागत तयारी भइरहेको बताए। अध्ययन भ्रमणबाट प्राप्त अनुभवलाई कार्यान्वयनमा उतार्दै सेवा सञ्चालनका बाँकी प्रक्रिया समयमै पूरा गरिने उनले जानकारी दिए।
नगरपालिकाले भूमि प्रशासन सेवा सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको जनाएको छ। सेवा सञ्चालनमा आएपछि जग्गा दर्ता, अभिलेख व्यवस्थापन तथा अन्य भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध हुने अपेक्षा गरिएको छ।
यसबाट नागरिकले जिल्ला मालपोत कार्यालय धाइरहनुपर्ने अवस्थाको अन्त्य हुँदै सेवा प्रवाह थप सहज, छरितो र प्रभावकारी बन्ने नगरपालिकाको विश्वास छ।







