भक्तपुर । नेकपा (माओवादी केन्द्र) मध्यपुर थिमिको दोश्रो नगर सम्मेलनबाट बिजय कृष्ण श्रेष्ठको अध्यक्षतामा ५५ सदस्यीय नगर समिति निर्वाचित भएको छ ।
अध्यक्ष निर्वाचित बिजय मध्यपुर थिमि नगरपालिकाको उपमेयर पनि हुन् । पार्टीको नगर अध्यक्षमा उनको यो दोश्रो कार्यकाल हो ।
बिहीबार बिहान थिमि बैंक्वेटमा सम्पन्न दोश्रो सम्मेलनको बन्द सत्रबाट बिजयकृष्णको नेतृत्वमा सिङ्गो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको संविधान सभा सदस्य समेत रहेका निर्वाचन समितिका संयोजक सत्यलाल मूलले बताएका छन् ।
उनले दिएको जानकारी अनुसार उपाध्यक्षमा बिकेश श्रेष्ठ , जगतमाया प्रजापती र नरेश रन्जित निर्वाचित भएका छन् ।
त्यसैगरी सचिवमा अधिवक्ता शिव श्रेष्ठ, सहसचिवमा कृष्णमान प्रजापति र कोषाध्यक्षमा रत्न केशरी प्रजापति निर्वाचित भएकी छन् ।
निर्विरोध निर्वाचित ५५ सदस्यीय कार्यसमितिलाई नगर इन्चार्ज एवं माओवादी केन्द्रकी केन्द्रीय सदस्य प्रतिमा श्रेष्ठले सपथग्रहण गराएकी अध्यक्ष मण्डलका सदस्य गणेश बुढाथोकीले बताए ।
अध्यक्ष मण्डलका अध्यक्ष एवं माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शिवहरी खनालको अध्यक्षतामा बन्द सत्र निर्विवाद सम्पन्न भएको सदस्य बुढाथोकीले बताए ।
सम्मेलनलाई उद्घाटन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापति भीष्मले प्रत्येक वडामा जनउभार आएको उल्लेख गर्दै स्थानीय तहको निर्वाचन जित्ने गरि अघि बढ्नुपर्नेमा जोड दिए ।
बागमती प्रदेश सभा सदस्य समेत रहेका केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठले जनप्रतिनिधि र जनतालाई जोड्ने काम नेताकार्यकर्ताले गर्नुपर्ने उल्लेख गरेका थिए ।
त्यस्तै अर्का केन्द्रीय सदस्य एवं बागमती प्रदेश स्कूलिङ बिभाग सह इन्चार्ज डीपी ढकालले पार्टी संसदीय अभ्यासमा रहेकोले चुनाव जित्नु नै मुख्यकुरा भएको भन्दै जनताको सेवागर्ने शासन सत्ता स्थापनाको लागि माओवादी केन्द्र चुनाव केन्द्रीत हुनुको बिकल्प नभएको बताए ।
सो अवसरमा केन्द्रीय सदस्य एवं मध्यपुर थिमि नगर इन्चार्ज प्रतिमा श्रेष्ठले नगरको सांगठनिक अवस्था बताइन् ।
वाइसीएल इन्चार्ज समेत रहेका अर्का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले अरु दिन माओवादी चाहिने र भोट हाल्ने दिन चाहिँ बिर्सने जनतालाई कसरी पार्टी प्रति प्रतिवद्ध बनाउने भन्ने जिम्मेवारी स्थानीय नेताकार्यकर्ताको काधमा रहेको बताएका थिए ।
कार्यक्रममा जिल्ला संयोजक सुनिल बासुले मध्यपुर थिमि नगरपालिकामा पार्टीको नगर अध्यक्ष नै उपप्रमुख रहेकाले पार्टी र जनताले मध्यपुरलाई नियालिरहेको उल्लेख गर्दै उदाहरणीय र जनप्रिय काम गर्नपर्नेमा जोड दिए ।
सो अवसरमा केन्द्रीय सदस्य एवं तत्कालीन संविधान सभा सदस्य उमा कपाली, प्रदेश सभा सदस्यसमेत रहेकी पार्टीको प्रदेश सचिवालय सदस्य भुवनकेशरी श्रेष्ठ भावना, प्रदेश समिति सदस्य बालकृष्ण दुगु, लगायतको आतिथ्यता रहेको थियो ।