भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको नेतृत्वमा न्हुछे रत्न मानन्धर चयन भएका छन् । शनिबार सम्पन्न प्रथम नगर अधिवेशनले मानन्धरको नेतृत्वमा नयाँ १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
यसअघि रास्वपा मध्यपुर थिमिको तदर्थ समितिको संयोजन गरिसकेका मानन्धर व्यवसायिक क्षेत्रमै पनि परिचित व्यक्तित्व हुन् । उनी भक्तपुर चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष समेत हुन् ।
नयाँ कार्यसमितिको उपसभापतिमा उषा प्रजापति, सचिवमा मुरारी नेपाल तथा सहसचिवमा बोधकुमार भण्डारी निर्वाचित भएका छन् । सदस्यहरूमा चन्द्रभक्त श्रेष्ठ, रिता खनाल, राजेन्द्र चक्रधर, महेश श्रेष्ठ, समिर पौडेल, प्रविना कायस्थ, सलीना कार्की र सजिना प्रजापति रहेका छन् । बाँकी सदस्यहरू भने कार्यसमिति बैठकमार्फत मनोनयन गरिने जनाइएको छ ।
नवनिर्वाचित सभापति मानन्धरले मध्यपुर थिमिलाई सुन्दर, व्यवस्थित र समृद्ध नगरका रूपमा विकास गर्ने लक्ष्यसहित आफ्नो टोली अघि बढ्ने बताएका छन् । पार्टी संगठनलाई जनताको विश्वास जित्ने माध्यम बनाउनेतर्फ आफूहरू केन्द्रित रहने उनको भनाइ थियो ।
जिल्ला सभापति रामेश्वर बस्नेतका अनुसार सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको हो । अधिवेशनबाट केन्द्रीय, प्रदेश तथा जिल्ला महाधिवेशनका लागि सात जना प्रतिनिधिसमेत छनोट गरिएको उनले जानकारी दिए । हाल मध्यपुर थिमिमा रास्वपाका ५ सय ९८ संगठित सदस्य रहेका छन् ।
अधिवेशनको उद्घाटन रास्वपाकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य रन्जु दर्सनाले गरेकी थिइन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टी संगठनले जनता र सरकारबीच सेतुको भूमिका निर्वाह गर्नुपर्ने बताइन् । “हामी राजनीतिका पुराना खेलाडी होइनौं, तर नियतमा स्पष्ट छौं,” उनले भनिन्, “सरकार गलत बाटोमा जाँदा संगठनले खबरदारी गर्न सक्नुपर्छ ।”
उनले आगामी स्थानीय तह निर्वाचनमा पनि प्रतिनिधिसभा निर्वाचनजस्तै उल्लेखनीय सफलता हासिल गर्ने लक्ष्यका साथ संगठन विस्तारमा जुट्न कार्यकर्तालाई निर्देशन दिइन् ।
कार्यक्रममा रास्वपा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य कुशम महर्जन, भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य रुपेश रन्जित, नेता साजन विक, कृष्णप्रसाद घिमिरे र उपेन्द्र केसी लगायतको उपस्थिति रहेको थियो।







