नेमकिपाको किल्ला भक्तपुरमा रास्वपाको पहिलो वडा अधिवेशन

भक्तपुर । नेमकिपाको बलियो पकड रहेको भक्तपुर नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तारलाई तीव्र बनाएको छ। 

जिल्लाका अन्य नगरपालिकामा वडासम्म संगठन बिस्तार गरेको रास्वपाले भक्तपुरमा भने वडा नम्बर २ बाट संगठन बिस्तार शुरु गरेको हो ।

कालोपाटीस्थित दरबार स्केट हाउसमा शुक्रबार बिहान सम्पन्न अधिवेशनले अनिल कोजुको सभापतित्वमा ९ सदस्यीय वडा कार्यसमिति निर्विरोध निर्वाचित गरेको नगर सभापति राजेश शिल्पकारले जनाएका छन् ।

रास्वपा केन्द्रीय सदस्य समिक्षा वास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा देको मिवा जग्गा एकीकरण आयोजना पीडित संघर्ष समितिका अध्यक्ष गोपालकृष्ण याकामी, समितिका पूर्व अध्यक्ष सञ्चग्यान याकामी तथा सल्लाहकार अधिवक्ता सत्य त्वयनासहित दुई दर्जनभन्दा बढी व्यक्तिहरू सहभागी भएका थिए। त्वयना गत स्थानीय तहको निर्वाचनमा खरायो चुनाव चिह्न लिएर लडेका मेयर पदका प्रत्यासी हुन् ।

उक्त संघर्ष समितिका नेताहरू नै रास्वपामा प्रवेश गरेपछि रास्वपा भक्तपुरका नेता तथा कार्यकर्तामा उत्साह थपिएको छ। यस घटनालाई रास्वपाको स्थानीय राजनीतिक प्रभाव विस्तारतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको रास्वपा केन्द्रीय सदस्य एवं भक्तपुरका युवा नेता साजन बिकले बताएका छन् ।