ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकप्रियता र चर्चाको मोहमा जनताका वास्तविक मुद्दा ओझेलमा पार्न नहुने बताएका छन्।
ललितपुरको जावलाखेलमा पार्टीको प्रशिक्षण विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै उनले सांसदहरूलाई सामाजिक प्रतिष्ठाभन्दा कानून निर्माण र जनहितलाई प्राथमिकता दिन आग्रह गरे।
उनले पहुँच र शक्ति प्रदर्शनको राजनीतिले देश नजित्ने भन्दै विधि, कानून र जनभावनाअनुसार निर्णय गर्नुपर्ने बताए। सरकारले अहिलेसम्म देश र नागरिकलाई हानि पुग्ने निर्णय नगरेको दाबी गर्दै केही कानूनलाई छिटो कार्यान्वयन गर्न अध्यादेश ल्याइएको स्पष्ट पारे।
“कतिपयलाई देश ट्र्याक बाहिर गएको जस्तो लागेको हुन सक्छ, तर त्यस्तो होइन,” उनले भने।
लामिछानेले रास्वपालाई परिवर्तनको आशासहित जनमत प्राप्त भएको उल्लेख गर्दै चुनाव जित्दैमा आफूहरू सर्वगुण सम्पन्न नभएको सांसदहरूले बुझ्नुपर्ने बताए।
उनले आफूहरू “जीवनी लेख्न होइन, इतिहास लेख्न” राजनीतिमा आएको दाबी गर्दै त्यसका लागि निरन्तर प्रशिक्षण र सिकाइ आवश्यक रहेको बताए। पुराना राजनीतिक दलहरूले संघर्ष गरेर एकतन्त्रीय शासन अन्त्य गरेको स्मरण गर्दै उनले माओवादी आन्दोलनले पनि ठूलो जोखिम उठाएको चर्चा गरे।
“हामीले सजिलो संघर्षबाट यो राजनीतिक हैसियत पाएका हौँ, त्यसैले धेरै काम गर्न बाँकी छ,” उनले भने।
उनले भाइरल हुने र चर्चा बटुल्ने अभियानमा नलागी संसदका समिति र विधेयकमाथि केन्द्रित भएर काम गर्न सांसदहरूलाई निर्देशन दिए।
“सांसदको लोगोको भार ठूलो हुन्छ, संसद जीवनी लेख्ने ठाउँ होइन, इतिहास लेख्ने ठाउँ हो,” उनले भने।
पार्टीको लाइनभन्दा बाहिर गएर समूहबन्दी नगर्न चेतावनी दिँदै उनले नेतृत्व र कार्यकर्ताबीच लक्ष्य फरक परे इतिहास बदल्न नसकिने बताए।
सुकुम्बासी समस्याबारे बोल्दै उनले भूमिहीनले अधिकार नपाएसम्म सरकार प्रतिबद्ध रहने बताए। पुराना राजनीतिक दलहरूले भोट बैंकको राजनीति गर्दा समस्या जटिल बनेको आरोप पनि लगाए।
“सुकुम्बासी साथीहरूलाई उचाल्न आवश्यक छैन, अधिकार सरकारले दिन्छ,” उनले भने।
लामिछानेले झुटा आश्वासन दिएर चुनाव जित्ने पक्षमा आफूहरू नरहेको उल्लेख गर्दै देशभरको भूमिहीन समस्या समाधानका लागि उच्चस्तरीय आयोग बनाएर स्थायी समाधान खोजिने बताए।
प्रधानन्यायाधीश सिफारिसबारे बोल्दै उनले संवैधानिक व्यवस्थाअनुसार प्रक्रिया अघि बढेको दाबी गरे। न्यायपालिका र अदालतलाई राजनीतिक लाभका लागि प्रयोग गर्न नहुने उनको भनाइ थियो।
“संविधानले गरेको व्यवस्थालाई आफ्नो सुविधाअनुसार व्याख्या गर्ने छुट कसैलाई छैन,” उनले भने।
उनले अर्थमन्त्रीसँग उत्कृष्ट बजेट निर्माणका विषयमा छलफल भइरहेको जानकारी दिँदै “सिंगो देश नै हाम्रो निर्वाचन क्षेत्र हो” भन्ने धारणा राखे।
सरकारका कामबाट आम नागरिकमा सकारात्मक सन्देश गएको दाबी गर्दै उनले जिम्मेवार राजनीतिज्ञ र सांसदका लागि निरन्तर प्रशिक्षण र सिकाइ आवश्यक रहने बताए।
“स्वस्थ आलोचना स्वीकार्य छ, खबरदारी गर्ने अधिकार सबैलाई छ, सुन्न हामी तयार छौँ,” उनले भने।
उनले बलियो प्रतिपक्षले सत्तापक्षलाई अझ जिम्मेवार बनाउने भन्दै लोकतान्त्रिक अभ्यासलाई मर्यादित बनाउनुपर्ने धारणा पनि राखे।







