
भक्तपुर । भक्तपुरका तीन दर्जन युवालाई च्याउ खेतीबारे एक महिने तालिम दिइएको छ । बागमती प्रदेश सरकार सामाजिक विकास कार्यालयको स्वीकृत कार्यक्रम अन्तर्गत सहकार्य संस्थाले सो तालिम दिएको हो।
वैशाख ६ गतेदेखि सञ्चालित तालिममा सहभागीहरूलाई सीताके, गोब्रे र कन्य च्याउ उत्पादन र बजारीकरण बारे तालिम प्रदान गरिएको सामाजिक विकास कार्यालयका अधिकृत राकेश श्रेष्ठले बताएका छन् । सहभागीहरूलाई च्याउबाट बन्ने सातथरी परिकार बनाउन पनि सिकाएको सहकार्यका अध्यक्ष त्रैलोक्यमान बनेपालीले बताए।
तालिमबाट च्याउको बिउ, आवश्यक पूर्वाधार, च्याउमा लाग्ने रोगहरू र त्यसको व्यवस्थापन बारे पनि ज्ञान प्राप्त भएको सहभागी अर्जुन कोजुले प्रतिक्रिया दिए । तालिम अवधिमा सैद्धान्तिक ज्ञानसँगै च्याउ खेतीमा प्रत्यक्ष सहभागी भई व्यवहारिक ज्ञान पनि प्राप्त गरेको अर्की सहभागी रश्मी हालेयु जोशीले जनाएकी छन् । तालिमबाट च्याउ खेतीमा लाग्न आवश्यक ज्ञान, सीप र प्रेरणा मिलेको सहभागीहरूको भनाइ छ।
मुख्य प्रशिक्षक एवं च्याउ किसान सनिस लागेजुले बाह्रै महिना उत्पादन गर्न सकिने च्याउ खेतीमा युवालाई आकर्षण गर्न तालिम सहयोगी भएको बताए । काठमाडौँ उपत्यकामा २० प्रतिशत च्याउको माग भक्तपुरले धानिरहेको बताउँदै लागेजुले च्याउको बजार बढ्दै गएकोले यसले रोजगारी र स्वरोजगारी सिर्जना गरिरहेको स्पष्ट पारे।
तालिम समापन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य भुवन केशरी श्रेष्ठले एक महिनामै तयार हुने च्याउ अन्य खेतीभन्दा आकर्षक रहेको बताइन् ।
प्रदेश सरकारको यस्तो सीपमूलक कार्यक्रमले बेरोजगारी हटाउन र उत्पादन बढाउन मद्दत मिल्ने उनले विश्वास व्यक्त गरिन् । सो अवसरमा संविधानसभा सदस्य द्वय सत्यलाल मूल र उमा कपालीले व्यावसायिक कृषिबाट समृद्धि सम्भव हुने बताए।







