भक्तपुर । मध्यपुर थिमि नगरपालिका-५ का ३९ वर्षिय लक्ष्मीभक्त भासिमा कलाकार हुन् । १६ वर्षको उमेरमै स्पाइनल ट्युमरका कारण उनी अपाङ्गताको सिकार बने ।
हिँडडुल गर्न नसक्ने भएपनि उनले हरेस खाएनन् र थाङ्का चित्र बनाउने कलामा पारङ्गत बने । अपाङ्गतालाई चुनौती दिदैँ उनी अहिले सक्रिय श्रमजीवी जीवन बिताइरहेका छन् ।
अपाङ्गताका बाबजुद समाजमा उदाहरणीय बनेका भासिमालाई सोमबार मध्यपुर थिमि नगरपालिकाले तीन पाङ्ग्रे स्कुटर दिएको छ । २५ प्रतिशत मूल्य भासिमाले र ७५ प्रतिशत नगरपालिकाले ब्यहोरेर खरिद गरिएको स्कुटर सोमबार भासिमालाई हस्तान्तरण गरिएको हो ।
स्कुटर पाएपछि भासिमा दङ्ग देखिए । “नगरपालिकालाई नजिकको सरकार भनेको सुनेको थिए, आज ब्यवहारमा अनुभूति भयो।” उनले भने ।
सोमबार भासिमा संगै मध्यपुर थिमिका अन्य अपाङ्गता भएका नगरबासीलाई पनि सहायक सामाग्री हस्तान्तरण गरिएको छ । १० वटा ह्वील चियर, ९ वटा कम्बोड चेयर, दुइवटा कृतिम खुट्टा त्यसैगरी जेली कुसन, विशेष जुत्ता,सेतो छडी एयर म्याट्रेस पनि उपलब्ध गराइएको नगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र भट्टले बताएका छन् ।
“नगरपालिकाको आन्तरिक श्रोतबाट करिब ६ लाख बराबरको सहायक सामाग्री खरिद गरि हस्तान्तरण गरिएको छ ।” महाशाखा प्रमुख भट्टले भने । वडामार्फत माग भइ आएका सामाग्री नगरपालिकाले आफैंले खरिद गरी सोमबार वितरण गरेको हो । यस अघि पनि ११ लाख रुपैयाँको सहायक सामाग्री वितरण गरिएको थियो ।
अपाङ्गता भएकाहरूलाई सहायक सामाग्री हस्तान्तरण गर्दै नगर उपप्रमुख विजय कृष्ण श्रेष्ठले मानव विद्या गृह, सिद्दिकालीस्थित विशेष विद्यालयमा अपाङ्गता भएकालाई सीपमूलक तालिम दिइरहेको जानकारी दिए ।
“अपाङ्गता भएकालाई झोल साबुन र खाम बनाउने तालिम पनि दिइरहेका छौं” उपप्रमुख श्रेष्ठले भने, उत्पादित सामाग्री नगरपालिकाले खरिद गर्ने ब्यवस्था मिलाएका छौँ ।
सो अवसरमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले अपाङ्गता भएकालाई नगरपालिकाले बिशेष सुविधा प्रदान गरिरहेको बताए । अपाङ्गताको पहिचान र परिचय पत्र वितरणलाई प्रभावकारी बनाइएको उनको भनाइ छ ।
सो अवसरमा वडाध्यक्ष बाबुकाजी डङ्गोल, न्यायिक समिति सदस्य तुलसीराम प्रजापति, नगरपालिकाको सूचना अधिकारी केशव सिलवाल लगायतको उपस्थिति रहेको थियो ।
मध्यपुर थिमिमा अपाङ्गता भएकाको संख्या ३ सय ९ जना रहेको छ । त्यसमध्ये १ सय ३३ जना पूर्णरुपले अशक्त रहेका छन् ।