भक्तपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुर र मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा मध्यपुर थिमिको शंखधर चोकदेखि दक्षिण बाराही मन्दिरतर्फ जाने मार्ग अन्तर्गत हनुमन्ते खोलाको पुल क्षेत्रमाचार पाङ्ग्रे सवारी साधनलाई एकतर्फी रुट व्यवस्था लागू गर्दै ट्राफिक संकेत बोर्डहरू राखिएको छ।
त्यस्तै, थिमिको शंखधर चोकबाट ब्यारीला हुँदै बालकोट नयाँ बस्ती जाने बाटो साँघुरो भएकाले उक्त सडकलाई समेत एकतर्फी बनाई बोर्ड राखिएको ट्राफिक कार्यालयले जनाएको छ ।
दुई पाङ्ग्रे सवारी साधनका लागि भने एकतर्फी ब्यवस्था लागू नहुने बताइएको छ ।
आइतबार आयोजित कार्यक्रममा ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख रहेका प्रहरी निरीक्षक प्रदीप खत्री, मध्यपुर नगरपालिका–४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ, सूर्यविनायकका वडाध्यक्ष लक्षुराम न्यौपाने, सडक विभागका प्राविधिक शक्ति श्रेष्ठ तथा स्थानीय टोल सुधार समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
यो पहलले शंखधधर चोकबाट दक्षिण बाराही मन्दिर जाने यात्रुहरूका लागि सहजता र सुरक्षाको प्रत्याभूति गराउने ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले विश्वास व्यक्त गरे ।
ट्राफिक व्यवस्थापन सुदृढ पार्दै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक एकतर्फी गर्नुका साथै सडक चिन्हहरू (सङ्केत बोर्ड) राखिएको उनले जनाएका छन् ।
नगरपालिकाले आगामी दिनमा अन्य महत्वपूर्ण स्थानहरूमा पनि यस्तै सुधारात्मक कार्यहरू अघि बढाउन सहकार्य गर्ने वडाध्यक्ष श्रेष्ठले बताएका छन् ।







