चार स्रष्टालाई १ लाख राशिको विपी कोइराला राष्ट्रिय पुरस्कार

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले आज चार विशिष्ट स्रष्टालाई ‘विपी कोइराला राष्ट्रिय पुरस्कार–२०८१’ बाट सम्मानित गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा संयोजित कार्यक्रमअन्तर्गत नयनसिंह कडायत, मीना सुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काईँला) र भुवन ढुंगाना कोइरालालाई जनही एक लाख रुपैयाँ राशीसहित पुरस्कार प्रदान गरिएको हो।

पुरस्कार वितरणपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समर्पित राजनीतिक नेतृत्व र साहित्यिक योगदानलाई सम्मान गर्न सरकारले यो पुरस्कार स्थापना गरेको बताएका छन्। “प्रजातन्त्रको झण्डा उठाउँदा निहित स्वार्थभन्दा माथि उठेर संघर्ष गर्ने नेताहरूको योगदान भुल्न मिल्दैन,” उनले भने, “आज कुनै विषयमा चित्त बुझेन भने अधिनायकवादी भनेर आरोप लगाइन्छ, तर अधिनायकवाद के हो भन्ने जेल, हत्कडी र कालकोठरी भोगेकाहरूलाई थाहा छ।”

ओलीले विपी कोइराला र पुष्पलाल श्रेष्ठ जस्ता नेताहरू कुनै पार्टी विशेषका मात्र नभई सम्पूर्ण राष्ट्रका साझा सम्पत्ति भएको उल्लेख गरे। उनले नेपाली कांग्रेस र कम्युनिष्ट आन्दोलन दुवैले राजनीतिक परिवर्तनको लडाइँमा एकसाथ बलिदान दिएको स्मरण गराउँदै भने, “यी संघर्षहरूमा विपी प्रेरणाका स्रोत थिए,” ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा र साहित्यमा गहिरो छाप छाडेका विपी कोइरालाको योगदानको स्मरणमा स्थापना गरिएको यो पुरस्कार २०७८ सालदेखि नियमित रूपमा प्रदान हुँदै आएको छ। सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा समावेश भई कार्यविधि तयार भएपछि यो पुरस्कार प्रणाली लागू गरिएको हो।