जन आदर्शमा पहिलो क्याम्पस सभा, जोशीको अध्यक्षतामा ब्यवस्थापन समिति

दीपक श्रेष्ठ, भक्तपुर । भक्तपुरको मध्यपुर थिमि-४ मा जनस्तरबाट स्थापित जन आदर्श क्याम्पसको पहिलो क्याम्पस सभाबाट ९ सदस्यीय नयाँ व्यवस्थापन समिति गठन गरिएको छ ।

समितिको अध्यक्षतामा तारामान जोशी चयन भएका छन् । जोशीको अध्यक्षतामा ९ सदस्यीय ब्यवस्थापन समिति सर्वसम्मत चयन भएको हो ।

समिति सदस्यहरूमा बुद्धि कुमार घो श्रेष्ठ, रमेश प्रजापति, रत्नकृष्ण श्रेष्ठ र सम्झना श्रेष्ठ रहेका छन्।

साथै, पदेन सदस्यका रूपमा मध्यपुर थिमि नगरपालिकाको वडा नं. ४ का वडा अध्यक्ष रहेका छन् भने त्रिभुवन विश्वविद्यालयले पठाउने एक प्रतिनिधि पनि सदस्य रहने बताइएको छ ।

समितिको सदस्य सचिवको जिम्मेवारी क्याम्पस प्रमुख दुर्गामोहन श्रेष्ठले सम्हाल्ने छन्। समितिमा एक जना सदस्य पछि थप गरिने उल्लेख गरिएको छ ।

यसअघि सम्पन्न क्याम्पस सभाको अध्यक्षता शिक्षासेवी तथा क्याम्पस व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष गंगादास श्रेष्ठले गरेका थिए।

कार्यक्रममा संस्थापक क्याम्पस प्रमुख प्रा. डा. दुर्गालाल श्रेष्ठले जन आदर्श क्याम्पसलाई मध्यपुर थिमिको इज्जत र पहिचानको प्रतीकका रूपमा बचाइराख्न सबैको साझा दायित्व रहेको बताएका थिए।

पूर्व डीन प्रा. डा. प्रकाशमान श्रेष्ठले क्याम्पसको स्थापना समयको आवश्यकता र स्थानीय मागका आधारमा गरिएको उल्लेख गर्दै, हालका माध्यमिक विद्यालयहरूसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका थिए।

क्याम्पस प्रमुख दुर्गामोहन श्रेष्ठले कार्यक्रमको सहजीकरण गरेका थिए।

सभाले शैक्षिक उन्नयनका लागि विभिन्न निर्णयहरु गरेको छ । सभाबाट पारित निर्णयहरू अनुसार क्याम्पसको भावी योजना, सहकार्य, गुणस्तरीयता तथा संस्थागत सुदृढीकरणमा जोड दिइने नवनिर्वाचित ब्यवस्थापन समितिका अध्यक्ष तारामान जोशीले बताएका छन् ।