मंगलादेवी सिंह स्मृति चेस प्रतियोगिताका विजेता सम्मानित

काठमाडौं । काठमाडौं महानगरपालिका–२७ को आयोजनामा सम्पन्न ‘मंगलादेवी सिंह स्मृति दोस्रो ओपन फिडे रेटिङ चेस प्रतियोगिता’ का विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको छ ।

अन्नपूर्ण माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगिताको पुरुष वर्गमा पुरुषोत्तम सिलवाल विजेता बनेका छन् ।

शुक्रबार आयोजित विशेष कार्यक्रममा मंगलादेवी फाउन्डेसनकी अध्यक्ष तथा नेपाली कांग्रेस नेतृ सिर्जना सिंहले विजेता खेलाडीहरूलाई नगद, ट्रफी र दोसल्ला प्रदान गर्दै सम्मान गरिन् ।

सोही अवसरमा शारीरिक सुगठन प्रतियोगितामा ओभरअल विजेता बनि ‘मिस्टर महानगर’ घोषित गृस महर्जनलाई पनि ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा नेतृ सिंहले स्वर्गीय मंगलादेवी सिंहको योगदानको स्मरण गर्दै महिला अधिकार, जागरण र संगठन निर्माणमा उनको भूमिकालाई प्रेरणादायी बताइन् ।

वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीले ३२ वर्षअघि महानगरपालिकाको सहयोगमा बुद्धिचाल प्रतियोगिता सुरु गरेको स्मरण गरे ।

कार्यक्रममा अन्नपूर्ण विद्यालयका प्राचार्य चन्द्रप्रकाश राजभण्डारीसहित विभिन्न अतिथिहरूको उपस्थिति थियो ।