प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच दोहामा भेटवार्ता

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा. फिलिप एम पाङ्गोबीच आज दोहामा भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघद्वारा आयोजित ‘विकासका लागि वित्त’ (Financing for Development) विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ओली कतारको दोहा हुँदै गइरहेका छन् । सोही क्रममा हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओली र उपराष्ट्रपति डा. फिलिपबीच द्विपक्षीय भेटवार्ता भएको हो।

भेटवार्तामा नेपाल र तान्जानियाबीचको आपसी सम्बन्ध, सहयोगका सम्भावना र विविध क्षेत्रका सम्बन्धमा विस्तृत कुराकानी भएको जनाइएको छ। साथै, दुई देशबीचको बहुपक्षीय साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो।

भेटका क्रममा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायतका पदाधिकारीहरूको उपस्थिति थियो।

प्रधानमन्त्री ओली नेतृत्वको टोली शनिवार साँझ नेपालबाट  स्पेनका लागि उडेका हुन् ।