शिक्षकहरु नआएपछि विद्यालयमा विद्यार्थीले लगाए ताला

जाजरकोट । जाजरकोटको एक माध्यमिक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । तालाबन्दी गरेपछि विद्यालयको पढाइ ठप्प भएको छ ।

जाजरकोटको कुशे गाउँपालिका वडा नं. १ काफलपाटामा रहेको तपोधेनु माध्यमिक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । विद्यालयमा पढाउने शिक्षकहरु कोही पनि नआएपछि पढ्न गएका विद्यार्थीहरुले आफ्नो पढ्न पाउने नैसर्गिक अधिकार हनन भएको भन्दै तालाबन्दी गरेका हुन् । पढनका लागि बिहान स्कूल पुगेका विद्यार्थीहरु ११ बजे सम्म पनि कोही पनि शिक्षक नआएपछि तालाबन्दी गरेर घर फर्केको बताउँछन् ।

विद्यालयका प्रधानाध्यापक र शिक्षकहरु अघिल्लो दिनदेखि नै कोही त्यही क्षेत्रमा लाग्ने मेला हेर्न गएको र कोही शिक्षक विवाहमा गएको बुझिएको छ । विद्यालयका प्रधानाध्यापक शशिराम जैसी पनि मोवाइल फोन स्वीच अफ गरेर गायव भएका छन् ।

यसरी विद्यालय बन्द गरेर शिक्षकहरु मेला र विवाहमा भएको, विद्यार्थीहरुले तालाबन्दी गरेको थाहा पाएपछि कुशे गाउँपालिकाले त्यसबारे बुझ्न त्यस क्षेत्रका स्रोत व्यक्तिलाई विद्यालय बन्द हुनुका कारण र अवस्थाबारे अध्ययन गरी प्रतिवेदन बुझाउने गरी पठाएको छ । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत यसरी विद्यालय बन्द गरेर व्यक्तिगत काममा जाने शिक्षकहरुलाई कारवाही गर्ने बताउँछन् ।

विद्यालयका शिक्षकहरुले बेलाबेलामा आफूहरुले तलब नपाएको पनि गुनासो गर्दै आएका छन् । तलब नपाएकोले पठनपाठनमा बाधा पुगेको शिक्षकहरुको गुनासो छ । गाउँपालिकाका अध्यक्ष बस्नेत विद्यालयका सबै शिक्षकले तलब नपाएको कुरा सत्य नभएको बताए । उनले गाउँपालिकाबाट सिकाइ अनुदान अन्तर्गत राखिएका शिक्षकहरुले केही महिना तलब नपाएको बताउँछन् । उनले संघीय सरकारबाट राजश्व बाँडफाँडको पैसा गाउँपालिकामा प्राप्त नभएकोले यस्तो समस्या भएको तर अब यही महिना सबैको तलब हाल्ने तयारी भइरहेको बताउँछन् ।

विद्यालय भएको वडाका वडा अध्यक्ष नरबहादुर सिंह विद्यालयमा दरबन्दी नभएकोले समस्या भएको बताउँछन् । माध्यमिक दरबन्दी नभएकोले गाउँपालिकाबाट अनुदान शिक्षक राखिएको उनी बताउँछन् ।

वडा अध्यक्ष विद्यालय दरबन्दीको समस्याका कारण निकै समस्यामा रहेको बताए । उनले शिक्षकहरुलाई कारवाही गरौ भन्दा पनि दरबन्दी नै नभएको, कारवाही नगरौ भन्दा पनि विद्यालयमा पढाइ बाधा पुगेको उनी बताउँछन् ।

विद्यालयका शिक्षक तथा अभिभावकहरु भने शिक्षकहरुले विद्यालयको पठनपाठनभन्दा आफ्नो व्यक्तिगत काममा ध्यान दिने गरेको बताउँछन् । यसबाट विद्यार्थीहरुको भविष्यमाथि खेलवाड भएकोले सम्बन्धित निकायले ध्यान दिन अभिभावकहरुको माग छ ।