काठमाडौ ।नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन) ले अघिल्ला सरकारले सरोकारवालासँग गरेका सहमती विद्यालय शिक्षा विधेयकले सम्बोधन गर्नुपर्ने बताएका छन् । शिक्षा पत्रकार समूहले शनिवार आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
सो अवसरमा सांसद दाहालले कतिपय विद्यालयमा विद्यार्थी भन्दा शिक्षक बढी रहेका पनि बताए । विगतमा सडक नहुँदा टोलटोलमा खोलिएका विद्यालय अहिले सडक सुविधा संगै अनावश्यक बन्न पुगेका उनको भनाइ छ । ”भूगोल र विद्यार्थी संख्याको आधारमा एउटा राम्रो विद्यालय बनाउन सके वरपरका अनावश्यक र अनुपयोगी विद्यालय मर्जर गरी पर्याप्त शिक्षक दरबन्दी व्यवस्थापन गर्न सकिन्छ ।” उनले भने ।
आर्थिक भार दिने तर, परिणाम नदिने विद्यालय हटाउनुपर्नेमा उनको जोड छ ।
उनले प्रारम्भिक बाल शिक्षा र इसिडि शिक्षकको व्यवस्थापनका विषय नजरअन्दाज गरेर शिक्षा विधेयक संसदबाट पारित हुन नसक्ने पनि स्पष्ट पारे । औपचारिक शिक्षाको जगका रूपमा रहेको प्रारम्भिक बाल शिक्षालाई विद्यालय तहभित्र समेट्दै कार्यरत शिक्षकको माग सम्बोधन हुनेगरी शिक्षा विधेयक पारित हुनुपर्नेमा उनले जोड दिए । ”काम बढी लाउने तर, तलब कम दिने काम बन्द गरौँ ।” उनले भने । प्रारम्भिक बाल शिक्षा र इसिडि शिक्षकको लागि कस्ता जनशक्ति चाहिने भन्ने विषयमा समेत स्पष्ट धारणा बनाउनुपर्ने उनले आवश्यकता औल्याए ।
सांसद दाहालले शैक्षिक प्रमाणपत्रले मात्र शिक्षक बन्ने योग्यता नपुग्ने दावी गरे ।
शिक्षकमा शैक्षिक प्रमाणपत्रसंगै संस्कार, बिनम्रता, नैतिकता, बालबालिकाप्रतिको प्रेमस्नेह तथा ज्ञानको भोक जगाउने र पूरा गर्ने कौसल हुनुपर्ने उनले बिचार व्यक्त गरेका छन् ।
त्यस्तैगरी सांसद दाहालले राज्यले लगानी गरेको सरकारी सामुदायिक विद्यालयमा आकर्षण नहुने तर, व्यक्तिले लगानी गरेका निजी संस्थागत विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण हुने कारण पहिचान गरि त्यसको समाधान गर्नुपर्नेमा जोड दिए ।
”जहाँ आकर्षण हुनुपर्ने त्यहाँ विकर्षण र जहाँ विकर्षण हुनुपर्ने त्यहाँ आकर्षणको अवस्था अन्त्य गर्नुपर्छ ।” उनले भने ।
उनले शिक्षा नीति, ऐन, कानुन, पाठ्यक्रम, पाठ्यपुस्तक र विद्यालयको वातावरण विद्यार्थी मैत्री हुनुपर्ने बताए । विद्यार्थीहरुले विद्यालय छोड्ने कारण पत्ता लगाई विद्यार्थी मैत्री हुनुपर्नेमा उनले जोड दिए । ” विद्यार्थी विद्यालयबाट भागेर घर जाने होइन, घरबाट भागेर विद्यालय आउने बातावरण बनाउनुपर्छ ।” उनले भने ।
विद्यालय शिक्षा बिधेयक संसदको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलमा रहेको र शिक्षा क्षेत्रलाई व्यवस्थित बनाइ गुणस्तरीय शिक्षामार्फत दक्ष र देशमै गरिखाने जनशक्ति उत्पादनमा मद्दत गर्न आवश्यक सल्लाह र सुझावको लागि पनि उनले सरोकारवालासंग आग्रह गरेका छन् ।