चितवन । सिन्धुलीबाट विद्यालयको शैक्षिक भ्रमणमा आएकी एक छात्राको हाटेलको छतबाट लडेर मृत्यु भएको छ । चितवनको रत्ननगर नगरपालिका–६ सौराहामा रहेको एक होटेलको छतबाट लडेर उनको मृत्यु भएको हो ।
मृत्यु हुने विद्यार्थी सिन्धुलीको सिद्धबाबा प्लस टु म्यानेजमेन्ट गुरुकुलमा अध्ययनरत विद्यार्थी भएको प्रहरीले जनाएको छ । सिन्धुली कमलामाई नगरपालिका वडा नं. ६ की १८ वर्षीय स्नेहा पाख्रिनको गए राती करिब सबा ११ बजे सौराहाको होटल पार्क साइटको चारतल माथिबाट खसेर मृत्यु भएको हो ।
चार तला माथिको छतबाट खसेर गम्भीर घाइते भएकी पाख्रिनलाई तत्काल बकुलहर अस्पताल, टाँडीमा पुर्याइएको थियो । अस्पतालमा पुगेको केहीबेरमै उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो ।
सिद्धबाबा प्लस टु म्यानेजमेन्ट गुरुकुलका विद्यार्थीहरु शैक्षिक भ्रमणका लागि सौराहा पुगेका थिए । सोही क्रममा यो घटना भएको हो । मृत्यु भएकी छात्रा पाख्रिनको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले यो घटनाबारे थप अनुसन्धान भइरहेको पनि जानकारी दिएको छ ।







