पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरमा गरे यस्तो घोषणा

भक्तपुर, १६ कात्तिक । प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले आफूले सरकारी सेवा सुबिधाको १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने घोषणा गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत रहनु भएका बस्नेतले सांसदले पाउने सरकारी सेवा सुबिधाको १० प्रतिशत सामाजिक सेवामा प्रयोग गरी समाजको विकास र समृद्धिमा खर्च गर्ने बताएका हुन् ।

सांसद बस्नेतले भने, “मेरो नेतृत्वमा अहिले भक्तपुरले विकासको मुहार फेर्दैछ, अबको तीन वर्षमा भक्तपुर जिल्ला विकासमा नमूनाको जिल्ला बनाउने अठोट गरेको छु, यो सँगै अब मैले सरकारी सरकारी सेवा सुविधाबाट आएको रकमको १० प्रतिशत सामाजिक सेवामा लगाउने घोषणा गर्दछु ।”

बस्नेतले घोषणासंगै पहिलो रकम मध्यपुरथिमि नगरपालिकामा रहेको खाँसी पोखरी पुनःनिर्माणको लागि रु एक लाख सहयोग गरे । उनले सांसदले् पाउने क्षेत्र विकास कोषबाट मध्यपुरथिमि नगरपालिकाले सार्वजनिक गरेको शंखधर पार्क निर्माणमा रु. ५० लाख रुपैँया प्रदान गर्ने घोषणा गरे ।

त्यसैगरि सांसद बस्नेतले क्षेत्र विकास कोषको तर्फबाट महालक्ष्मी भू–क्षय नियन्त्रणको व्यवस्थित गेट निर्माणको लागि रु ३० लाख र इ–लाईव्रेरीको लागि रु ३० लाख गरी ६० लाख उपलब्ध गराउने समेत घोषणा गरे ।

सरकारले मध्यपुरथिमिको नीलवाराहीलाई इको पार्क वा जातीय संग्राहलय मध्ये कुनै एकको रूपमा विकास गर्ने योजना सहित रु एक करोड ५० लाख रकम विनियाजन भएको बताए । त्यसैगरि भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको सम्पदा वस्ती संरक्षण गर्न सरकारले रु. १५ करोड रकम व्यवस्था गरेको जानकारी दिए ।

सरकारले गरेको विकासको काम नदेख्ने वा नदेखे झै गर्नेहरूले नै सरकारले विकास गरेन भन्न थालेको बताउँदै उनले अब भक्तपुरको विकास निर्माणको लागि स्रोत तथा साधनको कुनै अभाव नहुने बताए ।

सांसद बस्नेतले अरनिको राजमार्ग खण्ड अन्तर्गत सूर्यविनायकको घलाते, मध्यपुरथिमिको गठ्ठाघर र मध्यपुर थिमि कै बोडेमा तीन वटा नयाँ आकाशे पुलहरू निर्माण हुन लागेको बताए ।

Loading...