शनिबार राजधानीमा एमालेले युवा शक्ति प्रदर्शन गर्ने

भक्तपुर । नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको सबै विवरण आफूले सुरक्षित राखेको बताएका छन्। सबैको एक-एक हिसाब हुने उनको चेतावनी छ ।

भक्तपुरको गुण्डुमा बिहीबार जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा उनले आफूलाई पक्राउ गर्न गृहमन्त्री ओमप्रकाश अर्याललाई खुलेआम चुनौती पनि दिएका छन्।

“एमाले अध्यक्ष केपी ओली र महेश बस्नेतहरु पिठ्युँ फर्काएर भाग्दैनन।” उनले भने,”हिजो राणा, पञ्च र शाही शासन र माओवादीसँग लडेको टोली अहिले पनि तयार छ।”

उनले चेतावनी दिँदै भने, “केपी ओलीलाई छोए देशभर आगो बल्नेछ।”

उनले हालका आन्दोलनलाई ‘हावाका जेनजी नामको नौटंकी’ भन्दै आलोचना गरेका छन् । गृहमन्त्री अर्याललाई सावधान रहन चेतावनी दिदै नेता बस्नेतले भ्रष्टाचार छानबिनका लागि एमाले सधैं तयार रहेको तर, बालेन शाह, सुदन गुरुङ र वर्तमान मन्त्रीहरू रामेश्वर खनाल र कुलमान घिसिङहरुबाट छानबिन सुरु गर्नपर्ने बताए ।

बस्नेतले जेनजी आन्दोलनमा विदेशी योजनाअनुसार ‘स्नाइपर’ ल्याएर हत्या प्रयास गरिएको आरोप लगाउँदै बालेन शाह मुख्य योजनाकार रहेका आरोप लगाए ।

त्यसैगरी, नेता बस्नेतले असोज २५ गते शनिबार युवा संघ नेपालले मोटरसाइकल र्‍याली गरेर शक्ति प्रदर्शन गर्ने जानकारी दिए । 

बस्नेतको चेतावनीसँगै एमालेले राजधानीमा आगामी दिनहरूमा शक्ति प्रदर्शनका कार्यक्रम तीव्र बनाउने तयारी गरेको स्पष्ट हुन्छ ।