गृहमन्त्रीले गरे तीनवटै सुरक्षा प्रमुखसंग उच्चस्तरीय छलफल

काठमाडौँ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले देशको समग्र सुरक्षा स्थिति र पछिल्ला राजनीतिक गतिविधिबारे तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल गरेका छन्।

बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका वरिष्ठ प्रतिनिधिहरू सहभागी थिए।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, विपद् व्यवस्थापन, राजधानीमा देखिएका सुरक्षा चुनौतीहरू तथा सार्वजनिक शान्ति–सुरक्षासम्बन्धी विषयमा विस्तृत छलफल भएको गृह मन्त्रालय स्रोतले जनाएको छ।

स्रोतका अनुसार गृहमन्त्री अर्यालले तीनवटै सुरक्षा निकायबीच समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउन निर्देशन दिएका छन्। विशेषगरी राजधानी काठमाडौंमा बढ्दो अपराध, भीड नियन्त्रण र राजनीतिक गतिविधिबाट उत्पन्न हुनसक्ने जोखिमबारे समीक्षा गर्दै उनले सबै निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

मन्त्री अर्यालले देशभर शान्ति, स्थायित्व र जनताको सुरक्षाप्रतिको विश्वास कायम राख्न सुरक्षाकर्मीहरूलाई जिम्मेवारीपूर्वक खटिन निर्देशन दिएका छन्।