
भक्तपुर । अपदस्थ प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्कीको नेतृत्वमा सरकारले बनाएको छानबिन आयोग अस्वीकार्य रहेको बताएका छन् ।
भक्तपुरको गुण्डुमा बिहीबार जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा उनले गुण्डुकै पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोग अमान्य भएको उद्घोष गरे ।
“प्रतिवेदन लेख्नुस्, बुझाउनुस्- हामी मान्दैनौँ ।” उनले चुनौती दिदै भने,”जे जे गर्नु छ गर्नु।”
आफूलाई थुन्नुपर्छ भन्नेहरूलाई राखेर बनाइएको आयोग निष्पक्ष हुनै नसक्ने भन्दै उनले प्रतिवेदनको नाटक नगर्न आग्रह गरे । पूर्व न्यायाधीश कार्की लगायतको नियतमाथि नै उनले शंका गरे ।
“यस्ता नाटक हामी मान्दैनौ, नेपाली जनताले मान्दैनन् ।” उनले जिकिर गरे ।
सरकार प्रतिशोध तर्फ गैरहेको आरोप लगाउदै उनले आफूसहितको पासपोर्ट रोक्ने निर्णय सरकारले गरेपनि त्यसले आफूलाई केही फरक नपर्ने दावी गरे ।
‘सुशीला कार्कीको डरले केपी ओली गुटुटु भाग्छ ?’ उनले उल्टै प्रश्न गरे ।
पूर्वप्रधानमन्त्री ओलीले आफ्नो सम्पत्ति छानबिन गर्न सहयोग गर्ने तर, सरकार आफ्नै मन्त्रीहरुको पनि सम्पत्ति छानबिन गर्न तयार हुनुपर्ने तर्क गरे ।
उनले जेनजी नाममा राप्रपाले विध्वंस मच्चाएको आरोप लगाए । राष्ट्रको संरचना ध्वस्त गर्ने कार्य क्षम्य नहुने उनको भनाइ छ ।
उनले असंवैधानिक ढंगले संसद् विघटन गरिएको भन्दै संसद पुनःस्थापना गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।







