सांसद दाहाल दुलोमा लुकेको अभिव्यक्ति दिएर उनैसंग कफी पिउँदै महेश बस्नेत

सांसद राजन दाहाल दुलोमा लुकेको अभिव्यक्ति दिएर उनैसंग कफी पिउन नेकपा(एमाले) का नेता महेश बस्नेत पुगेपछि भक्तपुरको राजनीति तरंगित बन्न पुगेको छ । शनिवार सूर्यविनायक-८ को एमाले वडा अधिवेशनमा ”खै कुन दुलोमा लुकेको छ राजन दाहाल ?” भन्दै प्रश्न गरेका एमाले जिल्ला इन्चार्ज महेश बस्नेत केही बेरमै दाहालसंग कफी पिउन पुगेपछि जिल्लाको राजनीति तरंगित बनेको हो ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि संसदमा प्रश्न उठाएका दाहालको आलोचना गर्दै शनिवार बस्नेतले पशुपतिको जलहरीमा सुन नभई पित्तल हालिएको हल्ला फैलाएर राजन दाहाल दुलोमा लुकेको बताएका थिए । त्यसको केही घन्टामै दुई नेताले एउटै टेबलमा कफी पिएको फोटो सार्वजनिक भयो । भक्तपुर र सिन्धुलीका एमाले तथा माओवादी दुवै दलका कार्यकर्ताका लागि यो एउटा आश्चर्यजनक खबर बन्न पुगेको छ ।

सत्तारुढ दल नेकपा (एमाले) को पोलिटब्युरो सदस्य बस्नेत पूर्व उद्योग मन्त्री समेत हुन् भने दाहाल प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं संघीय सांसद रहेका छन् । भक्तपुरका नेता बस्नेत र सिन्धुलीका नेता दाहाल दुवै लडाकु स्वभावका नेता मानिन्छन । आफ्ना बिरोधिलाई देखि नसहने समान प्रवृत्तिका बस्नेत र दाहाल दुवै एक अर्कालाई गाली गर्ने अवसर चुकाउँदैनन् । यि दुई नेताबीचका बिबाद संचार माध्यमका लागि मसला बन्ने गरेका छन् ।

विशेषत: २०६६ सालमा सिन्धुलीको सुनकोशीमा बस्नेत नेतृत्वमा रहेको युवा संघको समूह र दाहाल नेतृत्वमा रहेको माओवादीको समूह बीच भिडन्त भएको घटनाले पनि यि दुई नेताहरुलाई मिल्न दिएको देखिंदैन । दाहालको नजरमा बस्नेत राजनीतिक नेता भन्दा बढी नवमण्डले र गुण्डा नाइके हुन् भने बस्नेतको नजरमा दाहाल अराजक र अपराधी पनि । नेता बस्नेतले त आफ्ना कार्यकर्तालाई सार्वजनिक सम्बोधन गर्दै राजन दाहाल जेलको कालकोठरीमा जाने ठोकुवा नै गरेका छन् । ”राजन दाहाल जेलको कालकोठरीमा एक जान्छन, दुई जान्छन, तीन जान्छन ।” बस्नेतले सार्वजनिक रुपमै ठोकुवा गरेका हुन् ।

तर, राजनीतिमा जे हुन्छ त्यो भनिदैँन र जे भनिन्छ त्यो हुँदैन भन्ने आम धारणालाई सहि सावित गर्दै यि दुई झगडिया नेताले मित्रताको हात अघि बढाएका छन् ।

बस्नेत र दाहाल बीच भेटघाटको तारतम्य भने वाइसिएलका भक्तपुर जिल्ला इन्चार्ज नरेश रन्जितले मिलाएका हुन् । रन्जित दुवै नेताका बिश्वासपात्र मानिन्छन् । रन्जितको कौसलटारस्थित निवासमा दुई नेताले मित्रताको हात अघि बढाउँदा नेकपा(एमाले)का जिल्ला अध्यक्ष बचन देउजा, एमाले नेता चन्दनकृष्ण श्रेष्ठ, युवा संघका केन्द्रीय सदस्य विशाल सुवेदी र वाइसिएलका केन्द्रीय सदस्य राजु कुटु लगायतका नेताहरु साक्षी बन्न पुगेका थिए ।

लामो तिक्ततापूर्ण सम्बन्धमा रहेका दुवै नेताले आफूहरुको भेट आकस्मिक र अनौपचारिक भएको बताएका छन् । यद्यपी, दुवै नेताहरु तितो सम्बन्ध त्याग्न आतुर रहेका देखिएको छ ।

सो भेटमा आपसी सम्बन्ध र समसामयिक राजनीतिका विषयमा छलफल पनि भएको नेताद्वयले स्वीकार गरेका छन् । राजनीतिमा स्थायी शत्रु नहुने भन्दै उनीहरुले आफूहरुको शत्रुता परिस्थितिजन्य मात्र भएको र अब त्यसमा सुधार गर्दै अघि बढ्ने अठोट गरेका मध्यस्थकर्ता बनेका युवा नेता एवं सामाजिक अभियन्ता नरेश रन्जितले जानकारी दिए ।

युवाहरुको समूह परिचालनमा पोख्त बिपरित धारका बस्नेत र दाहालको मित्रता धेरैको लागि अविश्वसनीय र टाउको दुखाइको विषय समेत बनेको देखिएको छ । सामाजिक संजाल हेर्दा यि दुई नेताको मिलनबारे मिश्रित प्रतिक्रिया प्राप्त भएको छ । धेरैजसो कार्यकर्ताले युवा नेताहरु गाली र बदलाको राजनीति बिर्सेर बामपन्थी एकता र बिकासका योजनामा केन्द्रीत हुनुपर्ने सुझाव दिएका छन् भने कतिपयले संयोगको भेटले वर्षैदेखि बिग्रेको सम्बन्ध नसुध्रने जिकिर गरेका छन् ।

नेताद्वयले भने अर्को बैठक समेत निश्चित गरी मित्रताको हात अघि बढाईसकेका बताइएको छ । तल जुधाएर माथि टाउको जोड्ने नेताहरुको चरित्र जति छिटो बुझ्यो बिपरित पार्टीका कार्यकर्ताबीचको द्वन्द्व समेत त्यति नै छिटो समाप्त हुने देखिन्छ ।